अख्तियारले प्रश्न उठाएको पाठकलाई खाद्यको सीईओ बनाउन केपी ओलीको सिफारिस !

काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारी नियुक्तिमा निकै अग्रसर भएर लागेका छन् ।

जुनसुकै मन्त्रालय अन्तर्गतको किन नहोस् उनले आफूलाई आर्थिक सहयोग गर्न सक्ने व्यक्ति नियुक्तिको लागि सिफारिस गरिहाल्छन् ।

अहिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले केहि संस्थानमा नियुक्तिको काम अघि बढाएको छ । हेटौंडा सिमेन्ट उद्योग, उदयपुर सिमेन्ट उद्योग, विशेष आर्थिक क्षेत्र र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कार्यकारी प्रमुख नियुक्ति हुँदैछ ।

उद्योग मन्त्री एमालेकै दामोदर भण्डारी रहेकोले ओलीले आफ्नो मान्छे नियुक्तिको अझै तिव्र चहना राखिरहेका छन् ।
ओली अझै आफूलाई सहयोग गर्ने मात्रै होइन सकेसम्म झापाकै मान्छे छनौट गरिरहेका छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सीईओको लागि उनले आफ्नो जिल्लावासी र पार्टीको सदस्यता नै लिएका कविप्रसाद पाठकलाई सिफारिस गरिसकेका छन् ।

सीईओको लागि १८ जनाको आवेदन परेको र सोमबारदेखि अन्तरवार्ता हुँदैछ । तर ओलीले आइतबार नै कविप्रसाद पाठकलाई सीईओ बनाउन मन्त्री भण्डारीलाई निर्देशन दिइसकेका छन् ।

ओलीले प्रधानमन्त्रीसँग आफु कुरा मिलाउने भन्दै सिफारिस गर्दा सबैभन्दा बढी अंकका साथ पाठकलाई मन्त्रीपरिषद्मा सिफारिस हुने व्यवस्था मिलाउन मन्त्री भण्डारीलाई आइतबार निर्देशन दिएका हुन् ।

ओलीले खाद्यको सीईओको लागि सिफारिस गरेका पाठक भने निकै विवादित व्यक्ति हुन् । राष्ट्रिय बीमा संस्थानका प्रमुख प्रशासक कवि प्रसाद पाठकविरुद्ध अख्तियारमा उजुरी परेको थियो । जुन उजुरी अहिले पनि कायम रहेको छ । उनी विरुद्ध गरेको उजुरी ७७७८ सी–०२४१३० नम्बरमा दर्ता छ ।

उनी राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख प्रशासक हुँदा नियम विपरित सेवा सुविधा थप गरि लिएको सरकारी स्रोतको दुरुपयोग गरेको उजुरीमा उल्लेख छ । जुन विषय अख्तियारले प्रश्न समेत गरेको छ । त्यससमय ओलीकै निर्देशनमा कारवाही प्रक्रिया भने रोकिएको थियो ।

तर उनले सरकारी स्रोतको दुरुपयोग गरेको विषय टुंगिएको भने छैन । २०७७ फागुनमा उनलाई अख्तियारले पत्र समेत काटेको थियो ।

पाठकले तत्कालिन राष्ट्रिय बीमा संस्थान ऐन, २०२५ तथा उक्त ऐन अन्तर्गत बनेको राष्ट्रिय बीमा संस्थान कर्मचारी नियमावली २०७५ ले तोकेको सेवा सुविधा तथा तलबभत्ता पनि लिएको र त्यसभन्दा बाहेक संस्थानका सिनियर स्थायी कर्मचारीले लिने सेवा सुविधा पनि लिएको पाइएको हो । साथमा सरकारी थप स्रोतको समेत दुरुपयोग गरेको विषयमा अख्तियारले करवाहीको प्रक्रिया अघि बढाएर स्थगित गरेको थियो ।

पाठक कृषि विकास बैंकमा लामो समय काम गरेका व्यक्ति हुन् । राष्ट्रिय बीमा संस्थानको प्रशासकमा २०७५ जेठमा नियुक्त भएका थिए । त्यस समयमा पनि एमाले अध्यक्ष ओली कै निर्देशनमा उनले प्रमुख प्रशासकको जिम्मेवारी पाएका थिए । तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाको सिफारिसमा मन्त्रिपरिषद् उनलाई नियुक्ति दिएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स