काठमाडौं । धितोपत्र बोर्ड अध्यक्षमा पुनः प्रक्रिया अपनाउनुपर्ने भएको छ । ३ जना अन्तरवार्तामै नगएपछि दुई जनाको नाम सिफारिस गर्न मिल्ने नमिल्ने भन्दै राय माग भएको थियो ।
त्यसमा महान्यायाधिवक्ताको कार्यालयले राय पठाएको छ । अर्थमन्त्रालयमा पठाएको रायमा २ जनाको नाम सिफरिस गर्न नमिल्ने उल्लेख छ ।
धितोपत्र बोर्ड अध्यक्षको अन्तरवार्ता असार २ गतेलाई बोलाइएको थियो । चैत २५ गते नै पाँच जनाको छनौट भएपनि प्रक्रिया स्थगित गरिएको थियो ।
बोर्ड अध्यक्ष छनौट समितिले उत्कृष्ट पाँच जनाको नाम अन्तिम सूची बनाएको थियो । बोर्ड अध्यक्ष बन्नका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) का कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्की, हालको बीमा प्राधिकरण साबिकको बीमा समितीका पूर्व अध्यक्ष चिरन्जीवी चापागाई, बोर्डका निर्देशकहरु मुक्ति श्रेष्ठ, डा. नवराज अधिकारी र सन्तोष नारायण श्रेष्ठ उत्कृष्ट पाँच जनामा समावेश थिए ।
यी पाँच जनालाई अन्तरवार्ताको लागि राष्ट्रिय योजना आयोगमा बोलाईए पनि दुई जना मात्रै उपस्थित भए ।
अन्य तीन जना भने सहभागी नै भएनन्। सहभागी नभएकालाई नयाँ मिति तय भयो। असार ५ गतेलाई बोलाइएको अन्तरवार्तामा समेत तीनै जना सहभागी भएनन् ।
अध्यक्षको नियुक्तीको प्रक्रियामा भने तीन जनाको नाम सिफारिस गर्ने भनिएको छ । तीन जनाको नाम अर्थमन्त्रीले मन्त्रीपरिषद् बैठकमा पेश गर्नुपर्ने हुन्छ ।
योजना आयोगको उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजक रहेको छनौट समितिमा अर्थसचिव र प्राध्यापक उदय निरौला रहेका छन् ।
यो समितिले ३ जनाको नाम पठाउन पाएन । त्यसपछि महान्यायाधिवक्ताको कार्यालयको राय माग भयो ।
तर महान्यायाधिवक्ताको कार्यालयले छनौट समितिको सचिवालय रहेको अर्थमन्त्रालको वित्तिय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा पठाएको पत्रमा दुई जनाको नाम सिफारिस गर्न नमिल्ने बताएको छ ।
जस अनुसार अब पुनः प्रक्रिया अघि बढाउनुपर्ने भएको हो ।