काठमाडौं । सरकारको आज आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेर सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ ।
सरकारको वार्षिक बजेटअघि संघीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ । सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९५ बमोजिम मंगलबर दिउँसो ३ बजे राष्ट्रपति पौडेलले संघीय संसद्को दुवै सदनको संयक्त बैठकलाई सम्बोधन गरेर नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।
संघीय संसद्का सबै सदस्यलाई दिनको २ः४५ बजेभित्र औपचारिक पोसाकमा उपस्थिति भई आ–आफ्नो आसन ग्रहण गरिसक्न भनिएको छ ।
नीति तथा कार्यक्रम प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले तयार गरेको हो ।
सबै निकाय तथा मन्त्रालयहरुबाट संकलन भएको वार्षिक नीति तथा कार्यक्रमको अन्तिम रुप प्रधानमन्त्री कार्यालयले दिएको हो । नीति तथा कार्यक्रम अनुसार बजेट कार्यक्रम निर्माण हुन्छ ।
यो वर्षको नीति तथा कार्यक्रममा रोगजारी दिने कार्यक्रम समावेश हुने छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफैंले रोजगारी दिने विशेष कार्यक्रम आउने बताइसकेका छन् ।
जसमा प्रधानमन्त्री रोजगार कार्यक्रमको पुनर्संरचना गरेर धेरैलाई रोजगारी प्रदान गर्ने साथै त्यसबाट प्रतिफल समेत आउने विश्वास सरकारको छ । आज सार्वजनिक हुने नीति तथा कार्यक्रममा केहि ‘गेम चेन्जर’ परियोजना समेत समावेश गर्ने जनाएको छ ।
बजेटको दायित्व थप हुने भएपनि त्यस्ता भौतिक परियोजना सार्वजनिक गर्ने तयारी रहेको देखिएको छ ।
आज सरकारले नीति तथा कार्यक्रम सार्वजनिक हुँदै गर्दा संसदमा अवरोध समेत हुने देखिएको छ ।
नेपाली कांग्रेशले गृहमन्त्री रवि लामिछानेको राजिनामा माग गर्दै आएको छ । गृहमन्त्री लामिछाने सहकारी ठगीमा आवद्ध रहेको र त्यसको लागि संसदीय छानबिन समिति माग गर्दै आएको छ । आज पनि सोहि माग राख्ने बुझिएको छ ।