धितोपत्र बार्ड अध्यक्ष नियुक्तिः बढाबढबाट पैसा असुल्ने चक्करमा अर्थ सचिव

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनको भ्रष्टाचार सूचकांकमा नेपाल १०८ औं स्थानमा परेको छ । नेपालका नियामकीय क्षेत्रको नियुक्तिमा हुने घुस सेटिङले उक्त सूचकांकको प्रतिनिधित्व गर्दछ । शक्ति केन्द्र रिझाएर नियामकीय निकाय धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति जिम्मेवारी पाएका अर्थसचिव कृष्णहरि पुष्कर यति बेला मोटो रकमको चास्नीमा चुर्लुम्बै डुबेर आवेदकहरूसँग बढाबढ गरिरहेका छन् ।

विशेष गरी सरकारले सेता हात्तीको रुपमा पालिरहेको सावर्जनिक संस्थान र त्यसैभित्र समावेश गरिएको नियामकीय नियुक्तिमा हुने करोडौं कमिशनले यस क्षेत्रलाई दुर्गन्धित बनाएको छ । यस्तो नियुक्ति अझ दुर्गन्धित बनाउन अर्थ सचिव पुष्कर अन्य सचिवभन्दा ४ कदम अगाडि देखिएका छन् ।

यहाँ प्रशंग जोडन खोजिएको नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको विषयलाई हो । अहिले धितोपत्र बोर्डका अध्यक्ष नियुक्ति प्रक्रियामा छ । तर, यो काम दुई महिनादेखि अघि बढेको छैन ।

बोर्डले फागुन १५ गते अध्यक्षका लागि खुलाएको आवेदनमा १९ जनाले आवेदन दिएका छन् । आवेदन दिने समय सकिएको दुई दिनमै अर्थमन्त्रीको इच्छा विपरित अमेरिका उडेका अर्थ सचिव कृष्णहरि पुष्करले उत्तैबाट धितोपत्र बोर्डको नियुक्ति प्रक्रियामा अर्थमन्त्रीले हस्तक्षप नगर्ने सेटिङ मिलाए । आफू अर्थ सचिवमा टिकी रहनको लागि मिलाइएको त्यो सेटिङबाट अर्थमन्त्री वर्षमान पुनलाई समेत अध्यक्ष नियुक्ति प्रक्रियामा बाहिर राखे ।

प्रधानमन्त्रीकै निर्देशनमा अर्थमन्त्री पुनले बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया तत्काल अघि बढाउन अर्थ सचिवलाई निर्देशन दिए । १० दिनको अमेरिका बसाइपछि नेपाल फर्केका अर्थसचिवलाई उनी आएको भोलिपल्टै अर्थमन्त्रीबाट यस्तो निर्देशन आएपनि उनी भने नियुक्ति प्रक्रियामा लिइने घुसको बढाबढ गरेर बसिरहेका छन् । आवेदन दिने म्याद सकिएको पनि आज २५ दिन भइसक्यो अझैसम्म नियुक्ति प्रक्रिया अघि बढेको छैन।

अर्थ सचिव पुष्करले किन बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया अघि नबढाएका हुन् त भनेर समकक्षीसँग हाम्रोअर्थले चासो राख्दा उनी आवेदकहरूसँग मोलमोलाइ गरेर बसिरहेका छन् । आफ्नो अर्को र क्षमतालाई भन्दा पनि नियुक्ति प्रक्रियामा लिइने मोटो प्रसाद छानिरहेका छन् ।

चतुर अर्थसचिव पुष्करले माथिदेखि तलसम्म सेटिङ मिलाउनुका साथै प्रमलाई पनि चलाउन सक्ने पावर ल्याएर त्यहि पावरको एक्ससाइज गरिरहेका छन् । जसका कारणले अहिलेसम्म बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया अन्योलमा छ ।

सार्वजनिक संस्थानहरूको कार्यकारी नियुक्तिमा चलखेल गर्दै आएका माफियाहरूको ग्याङका मुख्य योजनाकारले धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठलाई सेबोन अध्यक्ष बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई सिधै आग्रह गरेका थिए । त्यसपछि प्रमले पनि अध्यक्ष नियुक्ति प्रक्रियामा लाग्न अर्थ सचिवलाई नै जिम्मा दिएका छन् ।

उनले गर्ने सर्ट लिष्टिङको पहिलो नम्बरमा पर्ने पात्र श्रेष्ठ हुन् । यदपि क्षमता र अनुभवले भन्दा पनि शक्ति केन्द्र रिझाएकै भरमा अर्थ सचिव बनेका पुष्कर अर्थ मन्त्रालय मातहतको सेबोनामा आफ्ना प्यानलका श्रेष्ठलाई अध्यक्ष बनाउन लागि परेपनि पछिल्लो समय मोटो रकम ताकिरहेका छन् । जसले बढाबढमा बढी रकम हाल्छ अहिलेको अवस्थामा त्यहि बोर्ड अध्यक्ष बन्ने देखिएको छ । आफू पावरमा बसी रहन स्वार्थ समूहलाई लाभ दिने तयारीमा छन् ।

आफू अर्थ सचिवमा टिकिरहन अमेरिका भ्रमणकै बेला शक्ति केन्द्रसँग साँठगाँठ गरेर कम्तीमा पनि बजेट सार्वजनिक नहुन्जेलसम्म अर्थमै बस्ने चाँजोपाजो मिलाएर नेपाल फर्केका पुष्करलाई नेपाल फर्किने बित्तिकै प्रधानमन्त्री प्रचण्डले सेबोन अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढाउन जिम्मा दिएका थिए ।

अर्थ सचिव कृष्णहरि पुष्करले बोर्ड अध्यक्ष सिफारिस समितिसँग मिलेर आएका आवेदनबाट‘सर्ट लिस्टिङ’ गरेर प्रस्तुती सहितको अन्तरवार्ता लिनेछन् । त्यसपछि तीन जनाको नाम मन्त्रीपरिषद्मा पुर्याउने प्रक्रिया सुरु हुनेछ । बोर्ड अध्यक्ष सिफारिस समितिका संयोजक भने योजना आयोजका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ रहेका छन् । सदस्यमा अर्थ सचिव पुष्करसँगै प्राध्यापक उदय निरौला रहेका छन् ।

समितिले सिफारिस गरेको तीन जनाको नामावली अर्थमन्त्रीले मन्त्रीपरिषदमा पेश गर्ने र मन्त्रीपरिषद्को बैठकले १ जनालाई नियुक्त गर्नेछ । अर्थमन्त्री आफैले धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रियामा चासो देखाएर लागेका भए आवेदकमध्यका बलिया दावेदार नेपाल बीमा प्राधिकरणका पूर्व अध्यक्ष चिरञ्जिवी चापागाईँ र नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्णवहादुर कार्कीको सम्भावना बढी थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स