काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी पछिल्लो समय आन्तरिक म्यानेजमेन्टमा लागिपरेका छन् । अर्थात् मन्त्रालयबाट हुने र गर्न सकिने निर्णय गरेर अघि बढ्न चाहिरहेका छन् ।
मन्त्रालयले दिन सक्ने लाइसेन्स होस् वा निर्णय नै किन नहोस् उनी तम्सिएका छन् ।
पछिल्लो समय उद्योग विभाग माफर्त मदिरा उद्योगहरुहरुको समेत पुँजी वृद्धि गर्ने निर्णयमा अघि अघि बढ्ने छलफल चलाइरहेका छन् ।
विभागको महानिर्देशक सदस्य सचिव रहेको औद्योगिक प्रवद्र्धन बोर्ड रहेको छ । भने त्यसको अध्यक्ष उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रहने व्यवस्था छ । सोहि बोर्डबाट निर्णय गराएर मदिरा उद्योगहरुको पुँजी वृद्धिको निर्णय गराउने तयारी भैरहेको छ ।
बोर्डबाट निर्णय गराउन त्यति संभव भने छैन । बोर्डमा नीजि क्षेत्रको प्रतिनीधि अन्य मन्त्रालयको सचिवहरु र नेपाल राष्ट्र बैंकको गर्भनर समेत रहने व्यवस्था छ ।
तर पनि उद्योग मन्त्रीले भने पुँजी वृद्धि चाहिरहेका उद्योगहरुको निर्णय गराउने तयारी गरिरहेका छन् ।
त्यसो त २०७७ साउनमै पुँजी वृद्धि भएको गोर्खा ब्रुअरीको समेत अहिले पनि पुँजी वृद्धिको तयारी भैरहेको छ ।
गोर्खा ब्रुअरीले उद्योग मन्त्रालयमा पु्ँजी वृद्धिको ताकेता गरेपछि मात्रै अन्य क्षमता बढाउन चाहने उद्योगहरुको नाम समेत तयारी अवस्थामा राखिएको हो ।
तत्कालिन समयका उद्योग मन्त्री लेखराज भट्टको पालामा गोर्खा ब्रुअरीको पुँजी वृद्धि भएको थियो । अहिले पुनः क्षमता बढाउने तयारी भैरहेको हो ।
जसको लागि मन्त्री भण्डारीसँग गोर्खा ब्रुअरीका व्यक्तिहरुबीच छलफल समेत भैरहेको मन्त्रालयका एक अधिकारी बताउँछन् ।
उनी भन्छन, ‘निर्णय के हुन्छ थाहा छैन तर छलफल अघि बढेको छ ।’
गोर्खा ब्रुअरीमा ९० प्रतिशत लगानी विदेशी लगानीकर्ता काल्र्सवर्ग साउथ एसिया प्रालिको छ भने १० प्रतिशत सेयर स्वामित्व नेपाली व्यावसायिक घराना खेतान समूहको छ ।