काठमाडौं । ग्यास लाइटरमा गत वर्ष भन्सार विभागले गरेको बद्मासी कहिल्यै पनि बिर्सन नसक्ने घटना बनेको छ । भन्सार विभागका तत्कालिन महानिर्देशक शोभाकान्त पौडेल र सुख्खा बन्दरगाहा भन्सार कार्यालय सिर्सियाका तत्कालिन भन्सार प्रमुख रामप्रसाद मैनालीको मिलोमतोमा गैरकानुनी क्रियाकलाप भएको हो ।
जुन घटना नेपालको भन्सार मूल्याङ्कनको इतिहासकै सबैभन्दा ‘फ्रड’, गैरकानुनी र षडयन्त्रमूलक मानिन्छ ।
गत वर्ष यहि समयको कुरा थियो । चीनबाट आयात भैरहेको ग्यास लाइटरको मूल्याङ्कन गैरकानुनी रुपमा बढाइयो । भन्सार मूल्याङ्कन बढ्नु र घट्नु स्वभाविक भएपनि भन्सार विभागले अन्तराष्ट्रिय स्तरमा मूल्य फेरवदल नहुँदाको अवस्थामा किर्ते गरेर एक्कासी मूल्याङ्कन किन बढायो ?
मिलेमतोमा किर्ते भएको छ । जुन घटनामा भन्सार विभाग र भन्सार कार्यालयले अदालतलाई समेत ढाँटेको छ ।
यसमा एउटा यस्तो घटना छ जसले मिलेमतोमै काम भएको प्रष्ट देखिन्छ ।
यस्तो छ मिलेमतोको काहनी ?
भन्सार विभागका अनुसार गत वर्ष मंसिर १५ गते मूल्याङ्कन बढाइएको भनिएको छ । मूल्याङ्कन बढाउँदा धेरै आयतकर्ताको ग्यास लाइटर आयातको प्रक्रियामा थियो । सबै आयात कर्ता कम्पनीको सामान गैरकानुनी रुपमा भन्सारमा रोकियो ।
यसरी रोकिएपछि सुख्खा बन्दरगाहा भन्सार कार्यालयले मिति २०८० मंसिर २८ गतेका दिन शुभसिद्धि ट्रेर्डसलाई पत्र पठायो । उक्त पत्रको चलानी नम्बर १४७९ रहेको छ जसमा हस्ताक्षर भने मिति २०८० मंसिर २९ मा पछी मात्र भएको छ ।
यसरी शुभ सिद्धि ट्रेडर्स, विरगंजलाई प्रेषित गरी ७ दिन भित्र थप कागजातहरु पेश गर्न भन्ने पत्र जारी भएको थियो ।
२०८० मंसिर २९ मा हस्ताक्षर गरी श्री शुभ सिद्धि ट्रेर्डस भन्ने कम्पनीलाई प्रेषित गरेको उक्त पत्रको सम्बन्धमा निज शुभ सिद्धि ट्रेर्डस बिरगंजले सुख्खा बन्दरगाह भन्सार कार्यालयलाई फर्काएको प्रतिउत्तर पत्रमा मंसिर २७ गते उल्लेख भएको र मंरिस २८ मा ‘मूल्याङ्कन” भनि तोक लगाइ दर्ता भएको देखिन्छ ।
साथै सुख्खा बन्दरगाहा भन्सार कार्यालय, सिर्सियाको मूल्याङ्कन शाखाले मिति २०८० मंसिर २९ गते ५० प्रतिशत मूल्य थप गरी मूल्याङ्कन गरी जाँचपास गर्ने गरी निर्णय निर्णयपर्चा खडा गरियो ।
उक्त र्चामा ‘यस कार्यालयको चलानी नम्बर १४७९ मिति २०८० मंसी २८ गते पत्रचार गरिएकोमा पैठारी कर्ताले मिति २०८० मंसिर २९ गते उक्त पत्रको जवाफ पेश गरेको देखियो ।’ भनी निर्णय गरेको पाइन्छ । यसमा गम्भिर अनियमताता भएको छ ।
सुख्खा बन्दरगाहा भन्सार कार्यालयको कथित निर्णय पर्चामा मंरिस २८ मा पत्रचार गरिएको भनिएको छ । तर हस्ताक्षर मंसिर २९मा भएकोले झुट्टा रहेको स्पष्ट हुन्छ ।
मिति २०८० मंसिर २९ मा मात्र प्रेषित गरिएको पत्रको जवाफ २८ गते मा दर्ता हुनु सहस्यमय छ र पैठारी कर्ताको २८ गते मा दर्ता गरेको तथ्य विपरीत सो प्रतिउत्तर पत्रलाई निर्णय पर्चामा २९ मा जवाफ पेश गरेको भनी २९ गते निर्णय पर्चा लेखिएको मितिहरुको हरेफेर रहस्यमय देखिएको हो ।
भंसारले मिति ०८० मंसिर २८ गते उल्लेख भएको पत्रमा मिति ०८०मंसिर २९ का दिन सही गरी पैठारीकर्तालाई प्रेषित गरेको छ ।
पैठारीकरताले मिति ०८० मंसिर २९ अगावै मिति ०८० मंसिर २७ उल्लेख भऐको पत्र ०८० मंसिर २८ मा जवाफ दर्ता गरेको कुरा संकास्पद, रहस्यमयी र षणयन्त्रको पराकाष्टा हो ।
यस घटनाले तत्कालिन भन्सार विभागका प्रमुख पौडेल र सुख्खा बन्दरगाहा कार्यालयका प्रमुख मैनालीको ठूलो मिलेमतोमा भष्ट्राचार देखिएको हो ।