काठमाडौं । निजामती कर्मचारी सरुवा हुँदा कार्यरत निकायमा उपयोग गर्दै आएको सामान नबुझाई हिड्ने प्रवृत्ति बढिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बताएको छ । यस्तो प्रवृत्ति निरन्तर बढिरहेको भन्दै अख्तियारले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई पत्र काटेको हो ।
कुनै पनि सरकारी निकायमा कार्यरत कर्मचारीले आफू त्यस निकायमा कार्यरत रहँदाको सामान बरबुझारथ नगर्ने गरेको अख्तियारले बताएको छ ।
जिम्मेवारी अनुरुप बुझिलिएका सरकारी कामकारवाही सम्बन्धी कागजात तथा जिन्सी सामग्रीहरु उक्त निकायबाट सरुवा भए पश्चात कानूनबमोजिम बरबुझारथ गरी रमाना लिनुपर्नेमा त्यसो नगर्ने गरेको उजुरी समेत परेको र अध्धयनले समेत देखाएको बताइएको छ ।
बरबुझारथ नै नगरी रमाना लिई सरुवा भई जाने प्रवृत्ति देखिएको सन्दर्भमा सम्बन्धित कर्मचारीले रीतपूर्वक बरबुझारथ गरे पश्चात मात्र कार्यालयबाट रमाना दिने व्यवस्था हुन तर्फ आवश्यक कदम उठाउन समेत अख्तियारले भनेको छ ।
के छ पत्रमा ?
प्रस्तुत विषयमा यस आयोगमा उ।द।नं। ८.०३८४१३ मिति २०७९।१०।१६ मा दर्ता भएको उजुरीको सम्बन्धमा अनुसन्धान गर्दा देहाय अनुसारको सुझाव अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २८ को उपदफा (१) को खण्ड (ख) बमोजिम तहाँ मार्फत सबै मन्त्रालय र अन्तर्गतका निकायहरुलाई प्रदान गर्ने भनि आयोगको मिति २०८१।०६।१० गते निर्णय भएको हुदाँ अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यविधि, २०७८ को दफा २५ को खण्ड (ख) को उपखण्ड (१) को प्रयोजनार्थ सुझाव प्रदान गरिएको व्यहोरा अनुरोध छ ।
देहायः
‘कुनै पनि सरकारी निकायमा कार्यरत कर्मचारीले आफू त्यस निकायमा कार्यरत रहँदाको समयमा जिम्मेवारी अनुरुप बुझिलिएका सरकारी कामकारवाही सम्बन्धी कागजात तथा जिन्सी सामग्रीहरु उक्त निकायबाट सरुवा भए पश्चात कानूनबमोजिम बरबुझारथ गरी रमाना लिनुपर्नेमा बरबुझारथ नै नगरी रमाना लिई सरुवा भई जाने प्रवृत्ति देखिएको सन्दर्भमा सम्बन्धित कर्मचारीले रीतपूर्वक बरबुझारथ गरे पश्चात मात्र कार्यालयबाट रमाना दिने व्यवस्था हुन तर्फ आवश्यक कदम उठाउन तथा परिपाटी सच्चाउन ।’