१४ घण्टा लाग्ने यात्रा अव ३५ मिनेटमै सम्भव

काठमाडौं । हवाई पूर्वाधारको विकाससँगै दिनभरी लाग्ने यात्रा क्षणभरमा हुने भएको छ । पोखराबाट नेपालगञ्जसम्म सडकमार्गको यात्रा गर्न न्यूनतम १४ घण्टा छुट्याउनु पर्ने हुन्छ । तर, पोखरा–नेपालगञ्ज सिधा हवाई यात्रा सञ्चालनमा आएपछि अव १४ घण्टा लाग्ने यात्रा ३५ मिनेटमा सम्पन्न हुने भएको छ ।

पर्यटकीय नगरी पोखरालाई आधार बनाएर बुद्ध एयरले पोखरा–नेपालगञ्ज सिधा हवाई उडान शुरु गरेपछि यो सम्भव भएको हो । बुद्ध एयरले शुरुको केही साता सातामा ३ दिन आइतबार, बुधबार र शुक्रबार उडान भर्ने भएको कम्पनीका पोखरास्थित स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिए ।

गत वैशाख १८ देखि नै पोखरा–नेपालगञ्ज सीधा उडान थाल्ने योजना बनाइए पनि विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को असरले उक्त योजना सञ्चानमा ल्याउन सकेको थिएन । तीन दिन बिहान ९ः१० बजे नेपालगञ्जका लागि उडान हुनेछ । त्यस्तै नेपालगञ्जबाट १०ः०० बजेको उडानबाट यात्रुहरू पोखरा आउन पाउनेछन् ।

प्रत्येक उडानका लागि टिकटदर सस्तोमा ४ हजार ९ सय ३५ रुपैयाँ छ भने अधिकतम ७ हजार ६ सय ३५ छ । त्यस्तै मध्यमदरको टिकट पाँच हजार ५३५ रुपैयाँको छ ।

हाल १८ सिट क्षमताका बीचक्राफ्ट १९००डी सिरिजका जहाजबाट पोखरा–नेपालगञ्ज उडान शुरु भएको हो । उनले यात्रुको चापअनुसार उडान संख्याका साथै ठूला जहाजसमेत थप्न सकिने बताए । पर्यटकीय नगरी पोखराबाट हवाई उडानमार्फत ३५ मिनेटमा नेपालगञ्ज पुग्ने पर्यटक त्यहाँबाट नजिकै रहेको बर्दिया राष्ट्रिय निकुञ्ज, कर्णाली चिसापानी, रारालगायत स्थान पनि जानसक्ने भएकाले पर्यटन विकासमा समेत योगदान पुग्ने नेपाल टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेश अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए ।

साविकको धवलागिरिका पर्वतलगायत स्थानबाट ठूलै संख्यामा नेपालगञ्जसहित बाँके, बर्दीयामा मानिस बसाइँ सरेका छन् । पोखरालाई आधार बनाएर नयाँ गन्तव्यमा उडान भर्दा यहाँको पर्यटन प्रवद्र्धनमा पनि उत्तिकै टेवा पुग्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स