स्थानीय सरकार : विकासमा पाँचखाल मोडल

महेश खरेल
पाँचखालको एउटा भिजन छ, पी २० । यो २० वर्षपछि पाँचखाललाई कस्तो बनाउने भन्ने मोडल हो । पाँचखाल खेतीयोग्य जमिनलाई जोगाउन लागेको छ । खेतियोग्य जमिनमा प्लटिङ गर्न, प्लानिङ गर्न, घर बनाउन पूर्णरूपमा प्रतिबन्ध लगाउने प्रक्रियामा अघि बढेको छ ।

नगर आफैँले एउटा ऐन बनाएको छ । जसअनुसार कसैले पनि कुलो लाग्ने र धान फल्ने खेतमा घर बनाउन पाउने छैन । यस्तो जग्गामा घर बनाउन नेपालभर चार आना पनि जग्गा नभएको व्यक्तिले मात्र पाउँछ । नेपाल अधिराज्यभर चार आना जग्गा नभएको मालपोतको अभिलेख प्रमाणित गर्नुपर्छ । यो कामको स्थानीय भद्रभलाद्मी र वडाको नेतृत्वमा हुन्छ ।

सट्टापट्टा गरेर डिम वा पाखामा जग्गा दिइन्छ । यो विकल्प नभएको अवस्थामा चार गुणा राजस्व तिरेर मात्र खेतीयोग्य जमिनमा घर बनाउन पाइन्छ । खेतीयोग्य जमिन ५० औँ वर्षसम्म जोगाउने रणनीति पाँचखालको छ । यो कानुन आउनुभन्दा पहिले खेतमा फाट्टफुट्ट घर बनेका थिए । अहिले खेतमा घर बनाउन कसैले खोज्दैनन् । कित्ताकाट व्यावसायिकरूपमा बन्द छ ।

पाँचखालमा पाँचवटा हरियाली बस्नयोग्य शहर (ग्रिन लिभेबल सिटी) बनाउने योजना छ । वडा नं ३, ५ र ६ लाई समेटेर काफ्लेडी लाण्डी, सल्लेरी गैरा, तीनपिप्ले, बख्रेडी, दुलालथोकसम्म पाँच हजार रोपनीमा शहर बनाइँदै छ । अमेरिकन जेएलएल भन्ने कम्पनीले पाँचखालमा बनाउन मिल्ने शहरको सम्भाव्यता अध्ययन प्रतिवेदन तयार पारिसकेको छ । शहर निर्माणका लागि सिंगापुरको सुरभानाजम भन्ने कम्पनीसँग सहकार्य भएको छ ।

नेपाल इन्फास्ट्रक्चर बैंकले साढे दुई अर्बको लगानी प्रतिबद्धता जनाएको छ । बैंकले पाँच अर्ब लगानी जुटाउनेछ । कर्मचारी सञ्चय कोषले सस्तोमा कर्मचारीलाई आवास दिलाउने गरी छलफल अगाडि बढाएको छ । हरियाली नमास्ने, बोटबिरुवाको संरक्षण गर्ने र थप बोटबिरुवा वैज्ञानिक पद्दतिबाट रोप्ने काम यो शहरमा हुनेछ । प्राकृतिकरूपमा ताल बनाउने सोच छ । ठाउँठाउँमा पार्क बनाइने छ । बुढाबुढीलाई हिँड्न मिल्ने र बालबालिकालाई खेल्न मिल्ने प्रशस्त ठाउँको व्यवस्थापन हुनेछ । विदेशमा देखिने सुन्दर शहरको नेपाली संस्करण पाँचखालमा बन्नेछ ।

सो शहरमा सपिङ मल हुन्छ, विद्यालय हुन्छ, रोजगारीका अवसर हुनेछन् । ११ हजार आवास हुनेछन् । ५० हजारसम्म मान्छे बस्न सक्नेछन् । विश्वमा भएका सबै आवास सुविधाहरू यो नगरमा उपलब्ध हुनेछ । अटोमेटेड र अहिलेको सुविधा सम्पन्न २१ औँ शताब्दीमा बस्न मिल्ने शहर बन्नेछ । लगानी गर्न चाहने उपभोक्ता समिति, नगरपालिका, आम सर्वसाधारणका लागि आईपीओ जारी हुनेछ । नेप्सेमा सूचीकृत हुनेछ ।

पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीले ‘आफ्नो गाउँ, आफैँ बनाऔँ’ भन्नुभयो । यो शहर ‘आफ्नो गाउँ, आफैँ बनाउँ’ भन्ने सोचबाट आएको हो । यसको लागि पाँच हजार रोपनी जग्गा नगरले छुट्याउँछ । चाहिने पूर्वाधार सबै बनाउँछ । कसैको १० रोपनी जग्गा छ भने नगर विकास भएपछि छ रोपनी पाउनेछ । बाँकी जग्गा विकास लागतमा जानेछ ।
नागरिकहरूमा शहर र पूर्वाधारको प्यास छ । यो पूरा गर्न नेपालमा यस्तै मोडलका एक सयवटा शहर बन्नुपर्छ । यसरी शहरमा ५० लाख मान्छे बस्नेछन् । शहर निर्माण गर्ने लागत नागरिकबाटै आउँछ । विदेशमा रगत पसिना बगाएर रेमिट्यान्स पठाउने युवाहरूले पनि आफ्नै पालिकामा सुविधायुक्त शहर पाउनेछन् । काठमाडौँ वा अन्य ठाउँमा जानुपर्दैन ।

आम्दानीलाई सामुदायिक वन

पाँचखालमा क्रसर राख्न र बालुवा उठाउन दिइएको छैन । नगरमा ५५ वटा सामुदायिक वन छन् । दुईवटा वनमा नयाँ प्रयोग सुरु गरिएको छ । बेला सामुदायिक वनमा टिमुर खेती सुरु गरिएको छ । आगामी दुई वर्षपछि टिमुरबाट वार्षिक १५ देखि २० लाख रुपैयाँ आम्दानी हुनेछ । सो आम्दानी वडाको पूर्वाधार, कृषि, वन, पर्यटनसम्बन्धी क्षेत्रमा खर्च हुनेछ । यही मोडालिटी सबै सामुदायिक वनमा लागू गर्ने प्रयासमा छौँ ।

ठूली सामुदायिक वनमा छ सय ५० वटा बाह्रमासे रुख कटहर रोपिएको छ । तीन वर्षपछि कटहर फल्न थाल्नेछन् । कटहरबाट मात्रै वार्षिक ८० लाख रुपैयाँ आम्दानी हुनेछ । धुलिखेल अस्पताल र लभ ग्रिन नेपालसँगको सहकार्यमा यो काम गरिएको हो । त्यहाँका प्राविधिकले वन उपभोक्ता समितिलाई तालिम दिन्छन् । वन समितिका साथीहरूले खाल्डो खन्छन् । नगरपालिकाले मल बिरुवा र प्रविधि दिन्छ, विज्ञबाट तालिम दिलाउँछ । त्यसबाट हुने उत्पादनले स्थानीयस्तरमा विकासको काम गरिनेछ ।

हबका केही वर्षमा सामुदायिक वनबाट १३ वटा वडामा १३ करोड आम्दानी हुनेछ । वडालाई आत्मनिर्भर बनाइनेछ । यो नौलो प्रयास हो । बाँदरले दुःख दिएको ठाउँमा बाँदरलाई मन पर्ने फलफूल वनमै रोप्दैछौँ । त्यसो हुँदा बाँदर वनमा नै अल्झन्छ । बस्तीमा पस्दैन । बँदेललाई मन पर्ने केरा, तरुल रोप्दैछौँ । नेपालको वन, हरियो धन भनिएको छ । वनको धनबाट हुने लाभ पतकर र घाँस दाउरामा सीमित छ । एउटा नगरपालिकामा रहेको वनले १३ करोड आम्दानी दिन्छ भने देशभरका वनले दिने आम्दानी कति होला ? हामीले वनको आम्दानी मोडलको रूपमा अरूलाई देखाउन खोजिरहेका छौँ ।
शिक्षाको केन्द्र

पाँचखाललाई शिक्षाको केन्द्र (एजुकेसन हब)को रूपमा विकास गर्ने सोच नगरको छ । भारत, अमेरिकाजस्ता देशमा युनिभर्सिटी टाउन छन् । जुन नेपालमा पनि पाँचखालमा निर्माण गर्न सम्भव छ । नगरले १३ हजार रोपनी जग्गा मदन भण्डारी विश्वविद्यालयलाई दिएको छ । त्यहाँ ४५ अर्बको लागतमा पूर्वाधारको विकास हुनेछ । मदन भण्डारी विश्वविद्यालयको विधेयक पास भइएसकेको छ । चाँडै नै पूर्वाधार निर्माणको काम सुरु हुन्छ । पाँचखालमा काठमाडौँ विश्वविद्यालयको आर्टिफिसियल इन्टेलिजेन्सको पढाइ चलिरहेको छ । कृषिमा पठनपाठन सुरु भइसकेको छ । यी दुई विषय अध्यापन केन्द्रलाई पनि नगरले जग्गा दिनेछ ।

किङ्ग्स कलेजसँग मिलेर शिक्षकलाई तालिम दिने काम भइरहेको छ । कम्युनिटी र युनिभर्सिटीको संयोजन गरेर कम्युनिभर्सिटी अवधारणा ल्याइएको छ । पाँचखाल आसपास सिन्धुपाल्चोक, दोलखाका मानिसहरूलाई चाहिएको, भेग सुहाउँदो विश्वविद्यालय बन्नेछ ।

पाँचखालमा विशेष आर्थिक क्षेत्र निर्माण हुँदैछ । एक हजार रोपनीमा ४० वटा उद्योग आउँदैछन् । ती उद्योगले चार हजार जनालाई रोजगारी दिनेछ । पाँचखालमै हरित महिला औद्योगिक ग्राम बन्दैछ, जुन दक्षिण एसियामा दोस्रो र नेपालमा पहिलो हो । त्यसका लागि नगरले बजेट छुट्याइसकेको पनि छ । पाँचखालमा रोजगारी सिर्जना हुन्छ, कम्युनिभर्सिटीमा उचित पढाइ हुन्छ ।

अर्गानिक खेतीमा जोड
कृषि उपजमा विषादी बढी प्रयोग गर्ने ठाउँ भनेर पाँचखाल बदनाम थियो । तर अहिले परिस्थिति फेरिएको छ । बाली विकास केन्द्र, कालिमाटी वा कृषि ज्ञान केन्द्र, धुलिखेलमा नमुना जाँच गराउँदा खानयोग्य पाइएको छ । आलु पूर्ण अर्गानिक पाइएको छ । पाँचखालले छ सय जना अगुवा किसानलाई आईपीएम प्रविधिबाट तालिम दिएको छ । उनीहरू जैविक मल र विषादी बनाउँछन् । तीन लाख किलो चुना वितरण गरेर माटोका पीएच लेभल सुधार हुँदैछ । कृषिमा विषादी नियन्त्रण गर्न पाँचखाल सफल भएको छ ।

पाँचखाल वडा नं. ७, शिखरपुरमा एक सय रोपनीमा हरित महिला औद्योगिक ग्राम निर्माण हुँदैछ । उद्योग मन्त्रालयमा कार्यविधि तयार हुँदैछ । त्यो स्वीकृत हुने बित्तिकै ४० करोड बराबरको ठेक्का लाग्नेछ । ५० वटा साना कृषिमा आधारित उद्योग स्थापना हुनेछन् । ती उद्योगले हरित ऊर्जा प्रयोग गर्नुपर्नेछ, महिलाले मात्रै लगानी गर्नेछन् । यसका लागि नेपाल र भारतको महिला उद्यमी मञ्चबीच सम्झौता भइसकेको छ । १६ वटा उत्पादनको ग्यारेन्टी भारतले लिएको छ । पाँचखालमा उत्पादित कृषिजन्य वस्तुको ब्रान्डिङ गरेर राष्ट्रिय अन्तर्राष्ट्रिय बजारसम्म पुग्नेछ ।

सुनकोसीको पानी, दशैँमा पलाञ्चोक आइपुग्दैछ । कामले गति समातेको छ । इन्द्रावती र रोशीमध्ये कुन नदीबाट थप पानी ल्याउने भनेर अध्ययन हुँदैछ । सबै सपना पूरा हुन्छन् भन्ने छैन तर भिजन नराखेसम्म एउटा पनि पूरा हुँदैन । १० वटा भिजनमध्ये एउटा पूरा गर्न सके पनि सन्तुष्ट हुनुपर्छ । पानीको व्यवस्थापनपछि कृषकहरूलाई थप राहत पुग्नेछ ।

सबैको साथ
पाँचखालको विकासमा सबैको राम्रो साथ छ । नेपालको कर्मचारीतन्त्रलाई पुनर्गठन गर्नुपर्ने आवश्यकता छ, स्वचालित प्रणाली हुनुपर्छ । कामको टाइमलाइन तोक्नुपर्छ । साना काम आधा घण्टाभित्रमा सकिनुपर्छ । कुनै काम बढीमा दुई घण्टा वा एक दिन लाग्न सक्छ । मध्यस्थकर्ता नखोजी काम गर्न सक्ने अवस्था नहुनुको कारण फरक छ ।

कर्मचारीलाई आत्मसम्मान मिले धेरै समस्या समाधान हुन्छ । उनीहरूको बीमा हुनुपर्छ । बच्चाहरूलाई निःशुल्क शिक्षा हुनुपर्छ । ३० वर्षे सेवापछि एउटा आवास लिन सक्ने तलब सुविधा हुनुपर्छ । यस्तो सुविधा तब सम्भव छ, जब पाँचखालले कल्पना गरे जस्तै एक सय वटा शहर बन्छन् । यी तीन कुराको सुनिश्चिततापछि भ्रष्टाचार घट्छ ।

स्थानीय तहलाई विकासका लागि आवश्यक बजेट दिनुपर्छ । केन्द्र र प्रदेशले बजेटमा धेरै हस्तक्षेप र आशा पनि गर्नुभएन । धेरै सांसद, मेयरले चुनावको ऋण तिर्न सकेका छैनन् । संसद्ले यस्तो कानुन बनाउनुपर्छ उम्मेदवार पैसाले खर्च गर्नेबित्तिकै उम्मेदवारी खारेज होस् । न्यून खर्चमा निर्वाचन गर्नुपर्छ, निर्वाचन आयोगले मत प्रतिशतको आधारमा नै बजेट दिनुपर्छ ।

पार्टीले चन्दा उठाएर निर्वाचन आयोगलाई दिने हो वा करदाताले दिने हो । त्यसोगर्दा पनि भ्रष्टाचार कम हुन्छ । नेतालाई अनुशासनमा ल्याउन यसो गर्नुपर्छ । सम्पन्न मान्छे मात्रै नेता हुन पाउने अवस्था बनेको छ । कुनै सामान्य र संघर्ष गरेको मान्छेलाई पनि राजनीति गर्न मन होला, देशका लागि केही गर्छु भन्ने होला । तर चुनाव लड्ने क्षमता नहोला । कसैसँग सहयोग लिएर चुनाव लड्दा सहयोगको पैँचो तिर्दा, गुन तिर्दा, हस्ताक्षर गर्दा उसको हात काम्न सक्छ । विपन्न परिवारको छोराछोरीलाई त्यो ठाउँमा लैजान निर्वाचन खर्च प्रणालीमा कडाभन्दा कडा कानुन ल्याउनुपर्छ ।

झूटो कुरा पनि सय पटक भनेपछि सत्य हो कि भनेर पत्याउँछ । पाँचखालमा खानेपानी योजना ल्याउन लाग्दा विभिन्न भ्रम छरियो । कहाँ यो हुने योजना हो ? पैसा उठाएर खान्छन्, यसो गर्छन्, उसो गर्छन्, सम्भव छैन, कहाँ कोशीबाट पाँच पम्प गरी ल्याएर पानी आउँछ ? जस्ता अनेक कुरा गरे । चुनावको जस्तो टोलटोलमा गएर कोणसभा गरेर १८ हजार रुपैयाँको ग्यारेन्टी लिएँ । त्यतिले पनि पुगेन, सहकारी, समूहमा गएर ल्याप्चे लगाएर यो पैसा म दिन्छु भनेर सहीछाप गरेँ ।

ग्रिन लिभएवल सिटीको बारेमा पनि अनेक भ्रम छरेका छन् । घरखेत जान्छ भनेर नकारात्मक हल्ला गरिरहेका छन् । होइन, कसैको जाँदैन, आज १० रोपनीको एक करोडको मूल्याङ्कन छ भने छ रोपनीको मूल्याङ्कन ३० करोड पुग्छ । कुन फाइदा भयो त ? छोराछोरी नातिनातिनालाई समेत उद्दार गर्दै हुनुहुन्छ । पितृलाई सोह्र श्राद्ध गरेर उतार्नुहुन्छ । नातिनातिनालाई उतार्ने अवसर दैलोमा आएको छ । यो अवसरको सदुपयोग गर्नुपर्छ । जनतालाई सम्झाउनुपर्छ । महेश खरेल लिन होइन, दिन आएको भन्ने विश्वास जनतालाई छ ।

काम गर्नलाई इच्छाशक्ति चाहिन्छ । मूल सफा भयो भने धारा त्यसै सफा हुन्छ । हामीले मूल कसरी सफा गर्ने भन्नेमा ध्यान दिनुपर्छ । मूल को हो त ? नेतृत्वकर्ता । आज यो मुलुक बन्न जो प्रधानमन्त्रीको पदमा पुग्नुहुन्छ । व्यक्तिगत, पारिवारिक, कार्यकर्ताका स्वार्थ त्याग्नुपर्छ । यो मुलुक बन्न पाँच वर्ष पनि लाग्दैन ।

मेरो कार्यकक्षमा मनमोहन अधिकारी, वीपी कोइराला, कृष्णप्रसाद भट्टराईको तस्वीर छ । उहाँहरू फरक विचार राख्ने भए पनि विनास्वार्थका नेताहरू हुनुहुन्छ, पूजनीय हुनुहुन्छ । यस्ता राजनेताहरू हुनुपर्छ । नेतृत्व इमान्दार भयो भने सारा इमान्दार हुन्छन् । म आग्रह गर्छु, पैसा कमाउनुछ, सुन ओसार्ने, शरणार्थी काण्ड गर्नुछ भने राजनीति नगर्नु । राजनीति भनेको शुद्ध मनले सेवाको भावना राखेर गर्नुपर्छ । पेशा बनाउने, पैसा कमाउन, शक्ति आर्जन गर्न होइन । शक्ति आर्जन किन गर्ने दुरुपयोग गर्नलाई । राजनीतिमा आकर्षण पनि कम गर्नुपर्छ । मान्छेले मन्त्री बन्दिनँ भन्न सक्नुपर्छ ।

न्युजिल्याण्डमा हेर्नुस्, प्रधानमन्त्रीले परिवारलाई समय दिन सकिन भनेर राजीनामा दिन्छन् । भ्रष्टाचार गर्न पाइँदैन, कानुन कडा छ । समाज सेवा मात्रै कति गर्ने ? तीन पाँच वर्ष गर्छन्, त्यसपछि गर्दैनन् । हामी कहाँ आर्यघाटमा जाने बेलासम्म पनि कुनै नेताले छोड्दैनन् । शक्ति नहुँदा तल झरेपछि कुकुरले पनि पुच्छर हल्लाउँदैन । किनभने पावरमा हुँदा गाडीबाट ओर्लेर माया गरेको थिएन, बिष्कुट खुवाएको थिएन । यस्तो प्रवृत्ति त्याग्नुपर्छ ।

मैले बुढा मानिसहरूले राजनीति गर्नुहुन्न भनेको होइन । शारीरिक र मानसिक स्वास्थ्यले साथ दिन्छ र देशका लागि योगदान गर्न चाहनुहुन्छ भने राजनीतिमा आउन सकिन्छ । पारिवारिक, व्यक्तिगत मोहबाट माथि उठ्नुस्, नेपाल अत्यन्त राम्रो छ । सिंगापुर, अमेरिका मोडलले होइन, नेपालको मोडलले विकास गर्ने हो ।

पाँचखालमा धेरै परिवर्तन आइसकेको छ । एक दशक इमान्दार भएर काम गर्ने हो भने देशमा परिवर्तन ल्याउन कुनै ठूलो कुरा छैन । राजनीतिमा आकर्षण कम गर्नुपर्छ । कर्मचारीतन्त्र र नेतालाई सुशासन गराउनुपर्छ । भोको र तनावमा राखेर कसैले काम गर्न सक्दैन ।

उद्योगी व्यवसायीलाई घृणाको नजरले हेर्ने, हरेक निकायमा दुःख दिएर पैसा झार्ने होइन । पूर्वराज्यमन्त्री मोतीलाल दुगडले उद्योगी व्यवसायी भनेको ज्वाईँ हो भन्दै हुनुहुन्थ्यो । खासमा उद्योगी व्यवसायी भनेको ज्वार्इँ नै हो । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको अमेरिकाको यो सफलता साना तथा मझौला व्यवसायीका कारणले गर्दा हो । एनआरएनलाई विश्वासमा लिन सक्ने हो भने त्यो लगानी ल्याएर नेपाललाई दश वर्षमा कायापलट गर्न सकिन्छ । यो काम पाँचखालले गरेर देखाउँदैछ । नाफिज जर्नल अर्थचित्र ‘प्लानिङ २.०’ बाट साभार
(खरेल पाँचखाल नगरपालिकाका मेयर हुन् ।)

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स