सहरी पूर्वाधार विकास गर्न पाँचखाल नगरपालिका र नेपाल इन्फ्रास्ट्रक्चर बैंकबीच सहमति

काठमाडौं । सहरी पूर्वाधार विकासका लागि पाँचखाल नगरपालिका र नेपाल इन्फ्रास्ट्रक्चर बैंकबीच समझदारी भएको छ । सुविधा सम्पन्न सहरी पूर्वाधार विकास तथा निर्माण गर्न बैंक र नगरपालिकाबीच सहमति भएको हो ।

पाँचखाल नगरपालिका नगर प्रमुख महेश खरेल र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

पाँचखाल नगरपालिकामा रहेको सामाजिक आवश्यकताहरू पूरा गर्न, भौतिक पूर्वाधारको निर्माण तथा संचालनबाट नगरबासीहरुको लागि दैनिक जनजीवनमा सहजीकरण गर्न बैंकसँग नगरपालिकाले सहमति गरेको हो । सरकारको रणनीतिक कार्य योजना अन्तर्गत रहेको पाँचखाल नगरपालिकामा सुविधा सम्पन्न सहरी पूर्वाधार विकास तथा निर्माण गर्न उक्त सम्झौता भएको हो ।

बैंकले उक्त परियोजना निर्माण गर्न आवश्यक हुने प्राविधिक र आर्थिक सम्भाव्यता अध्ययन, वित्तीय तथा प्राविधिक विश्लेषण, विस्तृत परियोजना प्रतिवेदन, परियोजनाको बजारीकरण, परामर्शदाता तथा विकास कर्ता छनोटका लागि आवश्यक सहयोग, लगानीको संरचना तय गर्ने लगायतका आवश्यक अन्य प्राविधिक सहयोग र सहकार्य गर्ने छ ।

मुलुकको आर्थिक समृद्धिका लागि पूर्वाधार परियोजनाहरुलाई आवश्यक सहयोग पुर्याउने उद्देश्यका साथ सार्वजनिक नीजि साझेदारीको अवधारणा अनुरुप नेपाल इन्फ्रास्ट्रक्चर बैंकको स्थापना भएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स