काठमाडौं । मेवाखोला जलविद्युत् आयोजनामा विभिन्न सात वाणिज्य बैंकले ७ अर्ब लगानी गर्ने भएका छन् । ताप्लेजुङ जिल्लाको मरिङदेन गाँउपालिका स्थित ५० मेगावाट क्षमताको उक्त आयोजनामा बैंकहरूले ७ अर्बमध्ये ६ अर्ब ७५ करोड आवधिक कर्जा र २५ करोड चालु पुँजी कर्जा लगानी गर्ने सम्झौता गरेका छन् । मेवाखोलामा जलविद्युत् आयोजनाबाट ५० मेगावाट जलविद्युत उत्पादन हुने गर्दछ ।
युनाइटेड मेवा खोला हाइड्रोपावर प्रालि प्रवद्र्धक रहेको सो आयोजनामा सिटिजन्स बैंकको अगुवाइमा कुमारी बैंक, मेगा बैंक, सिद्धार्थ बैंक, नेपाल एसबीआई बैंक, सिभिल बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लगानी गर्ने भएका हुन् ।
प्रवद्र्धक युनाइटेड मेवा खोला हाइड्रोपावर कम्पनी र बैंकहरूबीच बिहीबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो । परियोजनाको कुल लागत ९ अर्ब रहेको छ । त्यसमध्ये ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वलगानी रहेको छ ।
उक्त आयोजनमा सिटिजन्स बैंकले १ अर्ब ४५ करोड, कुमारी बैंक, मेगा बैंक, सिद्धार्थ बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले समान रुपमा १÷१ अर्ब, एसबीआई बैंकले ८० करोड र सिभिल बैंकले ५० करोड लगानी गर्ने सम्झौता गरेका छन् ।
तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी आवश्यक तयारी भइरहेको प्रवद्र्धक कम्पनीले जानकारी दिएको छ । उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको कोशी कोरिडोरअन्तर्गतको ढुंगेसाँघुमा सबस्टेशनमा जोडिने छ ।