स्मार्ट लाइसेन्सको पर्खाइमा १० लाख २५ हजार चालक

काठमाडौं । स्मार्ट लाइसेन्सको पर्खाइमा बस्ने चालकको संख्या १० लाख २५ हजार पुगेकोे छ । ४ लाख ५५ हजार २ सय ४० जनाले स्मार्ट लाइसेन्स प्राप्त गर्न आवश्यक लिखित र प्रयोगात्मक (ट्रायल) परीक्षा पास गरेर रसिदसमेत पाइसकेका यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।

त्यस्तै, ४ लाख २५ हजार लाइसेन्सको लिखित तथा प्रयोगात्मक परीक्षाका लागि अनलाइन फारम बुझाएका छन् भने १ लाख ४५ हजार पुरानो लाइसेन्सको म्याद सकिएर नवीकरणसँगै स्मार्ट लाइसेन्स पाउने आसमा छन् ।

लाइसेन्सको परीक्षा सञ्चालन नहुँदा ट्रायलको पालो कुरेर बसेका सेवाग्राही मर्कामा परेको विभागका महानिर्देशक नमराज घिमिरे बताए । लाइसेन्स परीक्षा खुलाउनका लागि प्रदेश अन्तर्गतका लाइसेन्स कार्यालयसँग विभागले छलफल गरिसकेको घिमिरेले जानकारी दिए ।

‘ट्रयाल परीक्षा सञ्चालन गर्नका लागि यातायात कार्यालयहरु तयार देखिएका छन् । तर विभाग र कार्यालयले मात्र चाहेर ट्रायल परीक्षा सञ्चालन सकिने अवस्था छैन । कोरोना महामारीका कारण मुलुकमा निषेधाज्ञा जारी छ,’ घिमिरेले भने, ‘सरकारले भिडभाड हुने सेवा सञ्चालन नगर्नु भनेको छ । सीसीएमसी र प्रदेश सरकारको अनुमतिको आवश्यक पर्छ ।’

सीसीएमसी र प्रदेश सरकारले अनुमती दिए ट्रयाल परीक्षा सञ्चालन गर्न सकिने उनी बताउँछन् । विभागले साउन ९ गतेदेखि नै लाइसेन्सको आवेदन र ट्रयाल परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो ।

लाइसेन्सको परीक्षा सञ्चालनका लागि सीसीएमसीले अनुमति प्रदान गरिसकेको छैन । अनुमति प्राप्त नभई सकेकाले साउन ९ गतेदेखि आवेदन र ट्रयाल परीक्षा सञ्चालन गर्न सम्भव देखिएको छैन । सीसीएमसीको अनुमतिलाई प्रदेश सरकारले अनुमोदन गरेको एक साताभित्रमा लाइसेन्सको आवेदन र ट्रयाल परीक्षा सञ्चालन गर्न सकिने उनको दावी छ ।

ट्रायल परीक्षाका लागि आवश्यक पूर्वतयारीका लागि लाइसेन्स कार्यालयलाई एक साताको समय दिनुपर्ने हुन्छ ।

२०७६ चैतमा सरकारले लकडाउन जारी गर्दा पनि विभागले लाइसेन्सको आवेदन लिने काम स्थगित गरेको थियो । २०७७ असारदेखि यातायात कार्यालय खुले पनि नयाँ लाइसेन्सको सेवा अवरुद्ध नै थियो ।

२०७७ पुसमा लाइसेन्सको आवेदन विभागले खुलाएको थियो । करिब १० महिनासम्म लाइसेन्सको आवेदन अवरुद्ध हुँदा लाइसेन्स लिन चहानेको संख्या स्वभाविक रुपमा उच्च हुन पुगेको थियो । तत्कालिन समयसम्म लाइसेन्स कार्यालयहरुले दैनिक निश्चित कोटाका आधारमा मात्र लाइसेन्स फारम स्वीकार गर्थे । निश्चित कोटा पूर्ति भएपछि सफ्टवेयरले स्वतः आवेदन स्वीकार गर्दैन थियो ।

कोटा प्रणालीका कारण धेरै सेवाग्राहीले लाइसेन्सको फारम भर्न नपाएको भन्दै विभागले २०७७ माघदेखि उक्त व्यवस्था हटायो । नयाँ व्यवस्था अनुसार सेवाग्राहीले जुन पनि समयमा आवेदन दिन सक्ने भए ।

तर, सेवाग्राहीको चाप अनुसार यातायात कार्यालयहरूसँग लाइसेन्स परीक्षा सञ्चालन गर्ने आवश्यक पूर्वाधारको अभाव थियो । कार्यालयहले आफ्नो क्षमताका अनुसार दैनिक लाइसेन्स परीक्षा सञ्चालन गर्दै आइरहेका छन् ।

कार्यालयहरुको दैनिक क्षमताभन्दा बढी आवेदनलाई भिजिटिङ मिती तोक्दै फारम स्वीकार गर्दै गयो । सफ्टवेयर अनलिमिटेड फारम स्वीकार गर्दा सेवाग्राहीको चाप पनि बढ्दै गयो । चाप उच्च हुँदा लाइसेन्सको आवेदन दिएको एक वर्षभन्दा लामो समयसम्म पालो पर्खेर बस्नु पर्ने बाध्यता देखिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स