महासंघ र संयुक्त राष्ट्रसंघ बीच स्तरोन्नतिको प्रभाव न्यूनीकरण र एसडीजी कार्यान्वयनमा सहकार्य गर्ने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजक सारा व्योसोलो नयन्थीबीच महासंघ सचिवालयमा औपचारिक भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्र संघको दिगो विकासका लक्ष्य पुरा गर्न संयुक्त राष्ट्र संघ र महासंघबीच सहकार्य, नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा आइपर्ने चुनौति सामना गर्न निजी क्षेत्रको भूमिका एवम् कोभिडबाट अर्थतन्त्रमा परेको असर न्यूनीनकरणका लागि संयुक्त प्रयास गर्ने लगायतका विषयमा छलफल भयो ।

उक्त अवसरमा संयुक्त राष्ट्र संघका आवासीय संयोजकलाई महासंघ सचिवालयमा स्वागत गर्दै अध्यक्ष गोल्छाले मुलुकभर बलियो सञ्जाल हुनुका साथै तल्लो तहसम्म पुुग्न सक्ने संरचना महासंघको भएकाले दिगो विकास लक्ष्य पुरा गर्न महासंघ महत्वपूर्ण साझेदार हुनसक्ने बताए ।

महासंघले अगाडी बढाएको राष्ट्रिय आर्थिक रुपान्तरण (नेट २०३०) का कार्ययोजना कार्यान्वयन हुन सके नेपालले दिगो विकास लक्ष्य पनि हासिल गर्न सक्ने उनको धारणा थियो । नेट २०३० ले नेपालले अबको पाँच वर्षभित्र विकासशील मुलुकमा स्तरोन्नति हुन पुरा गर्नुपर्ने तयारीलाई समेत समावेश गरेको छ । सोही अनुसार निजी क्षेत्रमा पर्न सक्ने प्रभाव र न्यूनीकरणका उपाय सहितको अध्ययन प्रतिवेदन महासंघले तयार पारेको छ ।

मुलुकभित्र उद्योग व्यवसायको विस्तार, लगानी अभिवृद्धि, रोजगारी सृजनाका लागि गर्नुपर्ने सुधारका विषयमा नेट २०३० ले दिएका सुुझावहरूको कार्यान्वयनमा महासंघले सरकारमा समेत पहल गरी सकेको अध्यक्ष गोल्छाले स्पष्ट पारे । यसको कार्यान्वयनका लागि संयुक्त राष्ट्रसंघसँग पनि सहकार्य आवश्यक रहेको उनले बताए । अध्यक्ष गोल्छाले संयुक्त राष्ट्र संघसँग महासंघले निरन्तर सहकार्य गर्दै आएको र दिगो आर्थिक विकासका लक्ष्य हासिल गर्न महासंघ सहकार्य गर्न तत्पर रहेको बताए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स