काठमाडौं । सरकारले कम्पनी अध्यावधि गर्न ९० प्रतिशत छुट दिएपछि अहिले कम्पनी रजिष्ट्रारको कार्यालयमा सेवाग्राहीहरूको भिडभाड बढ्न थालेको छ । चालु आर्थिक वर्षको आर्थिक अध्यादेशले कम्पनी अद्यावधिकमा छुट दिएपछि कम्पनी दर्ता गराएर त्यतिकै छाडेका तथा कुनै कारणवस सञ्चालन गर्न नसकेर त्यतिकै रहेका कम्पनीहरू अद्यावधि गर्न गर्नेको भिडभाड कम्पनी रजिष्ट्रारको कार्यालयमा लागेको हो ।
सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत अद्यावधि नभएका कम्पनीलाई अद्यावधि गर्न छुट दिएका कारण सो सुविधाको उपयोग गर्दै दैनिक १ सयभन्दा बढी कम्पनी अद्यावधि हुन थालेको कम्पनी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार प्रदिप अधिकारीले बताए ।
‘आर्थिक अध्यादेशको उपयोग गर्दै दैनिक कम्पनी अद्यावधि गर्नेको भिडभाड बढेको छ,’ उनले भने ‘अध्यादेशले गरेको व्यवस्था अनुसार हामीले साउन १६ गतदेखि छुट दिने सूचना निकालेर सेवाग्राही तथा कम्पनी सञ्चालकलाई कम्पनी अद्यावधि गर्न सूचित गरेका थियौं ।’ त्यहि बेलादेखि नै कार्यालयमा भिडभाड बढ्न थालेको हो ।
सरकारले चालु आर्थिक वर्षको आर्थिक अध्यादेशमार्फत गरेको व्यवस्थाले आर्थिक वर्ष २०७५/७६ सम्मको बुझाउनु पर्ने नवीकरण शुल्क नबुझाएका वा कुनै पनि किसिमले जरिवाना शुल्क निर्धारण भएका कम्पनीलाई असोज मसान्तसम्म अद्यावधिक गर्दा ९० प्रतिशत छुट दिने व्यवस्था गरेको छ ।
कम्पनी खडा गरेर सञ्चालनमा नल्याएका तथा कुनै कारणवस कम्पनी अद्यावधिक नगरेकालाई चालु आवको असोजमसान्तसम्म अद्यावधि गर्नेले १० प्रतिशतमात्रै शुल्कतिरे पुग्ने व्यवस्था गरेको हो ।
छुटका कारण नियमित उठ्ने राजस्वमा समेत उल्लेख्य वृद्धि देखिएको छ । अहिले नै २० प्रतिशतभन्दा बढी राजस्व संकलन भइसकेको अधिकारीले जानकारी दिए ।
त्यतिमात्रै होइन सरकारले दिएको छुटका कारण कम्पनी अद्यावधिक गर्नेको एकातिर भिडभाड छ भने अर्कोतिर स्टार्टअप कम्पनीलाई सहुलियत दिने सरकारको घोषणाले पनि नयाँ कम्पनी खोल्नेको आकर्षण देखिन थालेको छ ।
युवा उद्यमीलाई स्टार्टअप गर्न चाहनेलाई परियोजना धितो राखी एक प्रतिशत ब्याजदरमा ऋण दिने घोषणा ओली सरकारले गरेको छ ।
उक्त कामको लागि सरकारले १ अर्ब रुपैयाँ बराबरको च्यालेन्ज फण्ड बनाउने घोषणा पनि गरेको छ । जसले गर्दा पनि नयाँ कम्पनी दर्ता गर्नेको संख्या बढ्दै गएको हुन सक्ने कार्यालयको भनाइ छ ।
चालु आर्थिक वर्षको साउनमा ३७ सय १० कम्पनी नयाँ दर्ता भएका छन् । गत वर्ष सोही अवधिमा २५ सय ९१ नयाँ कम्पनी दर्ता भएका थिए । जुन गत वर्षको तुलनामा ४३.५१ प्रतिशत बढी हो ।