काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो त्रैमासमा सरकारको राजस्व संकलन र बजेट खर्च दुवैको अवस्था न्यून देखिएको छ । महालेखा नियन्त्रक कार्यालयकाअनुसार असोज मसान्तसम्ममा सरकारले वार्षिक लक्ष्यको १५.९३ प्रतिशत राजस्व संकलन गरेको छ भने १६.०२ प्रतिशत बजेट खर्च गरेको छ ।
सरकारले चालु आवको यो अवधिमा २ खर्ब ३४ अर्ब राजस्व संकलन गरेर २ खर्ब ८० अर्ब खर्च गरेको हो । यसको अर्थ सरकारले प्रशासनिक खर्च समेत धान्न सकेको छैन भन्ने हो ।
चालु आवका लागि सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएको थियो । पहिलो त्रैमासिक अवधिमा दुई खर्ब ८० अर्ब ५७ करोड २५ लाख रुपैयाँ बराबर बजेट खर्च भएको छ । जुन खर्च वार्षिक विनियोजनको १६.२ प्रतिशत बराबर हो ।
यो अवधिमा सरकारले चालुतर्फ १८.६९, पुँजीगततर्फ ५.९ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १६.०५ प्रतिशत बजेट खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकमा देखिएको छ । चालु शीर्षकमा ११ खर्ब ४१ अर्ब ७८ करोड रुपैयाँ बराबरको वार्षिक बजेट रहेकोमा असोज मसान्तसम्ममा दुई खर्ब १३ अर्ब ३९ करोड बराबर खर्च भएको छ ।
त्यस्तै, पुँजीगत शीर्षकमा तीन खर्ब दुई अर्ब सात करोड बराबरको वार्षिक बजेट रहेकामा हालसम्म १७ अर्ब ८३ करोड ३१ लाख बराबर खर्च भएको छ । वित्तीय व्यवस्था शीर्षकमा तीन खर्ब सात अर्ब ४५ करोड ३६ लाख बराबर बजेट छुट्याइएकामा पहिलो त्रैमास अवधिमा ४९ अर्ब ३४ लाख ९० हजार बराबर खर्च भएको छ ।
हालसम्मको सरकारी राजस्व संकलन हेर्दा दुई खर्ब ३४ अर्ब ६३ करोड २४ लाख बराबर रहेको छ । जुन वार्षिक लक्ष्यको १५.९३ प्रतिशत बराबर हो । सरकारले चालु आवका लागि १४ खर्ब ७२ अर्ब ४८ लाख ४७ हजार बराबर वार्षिक राजस्व उठाउने लक्ष्य राखेको छ ।
पहिलो त्रैमासमा संकलन भएको राजस्वमध्ये कर राजस्वतर्फ वार्षिक लक्ष्यको १५.२८ प्रतिशत अर्थात् एक खर्ब ९९ अर्ब ४६ करोड २१ लाख र गैरकर राजस्वतर्फ वार्षिक लक्ष्यको १६.७९ प्रतिशत अर्थात् १९ अर्ब ६५ करोड ३० लाख बराबर रहेको छ । चालु आवका लागि ४९ अर्ब ९४ करोड ३० लाख बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखेको सरकारले हालसम्म वार्षिक लक्ष्यको शून्य दशमलव १२ प्रतिशत अर्थात् ६ करोड १८ लाख बराबर अनुदान लिएको छ ।