फागुनमा ब्याजदर घटाउनु पर्ने प्रेसरमा १४ बैंक, अन्यको अवस्था कस्तो ?

काठमाडौं । फागुन महिनामा बैंकहरूले ब्याजदर स्थिर राख्ने बुझिएपनि १४ वटा बैंक भने कर्जाको ब्याजदर घटाउनु पर्ने प्रेसरमा छन् । धेरै बैकर्सहरूले फागुन महिनापछिमात्रै कर्जाको ब्याजदरमा घटाउन सकिने बताए पनि ४.२ प्रतिशतभन्दा माथि स्प्रेडदर रहेका बैंकहरू भने फागुन महिनाबाटै कर्जाको ब्याजदर घटाउनु पर्ने प्रेसरमा छन् । पुसमहिनासम्मको तथ्यांकअनुसार बैंकको ब्याजको स्प्रेडदर ३.७४ प्रतिशतदेखि ४.४८ प्रतिशतसम्म रहेको छ ।

दोस्रो त्रैमासको रिपोर्टअनुसार नबिल बैंकको स्प्रेडदर सबैभन्दा माथि छ भने कृषि विकास बैंकको स्प्रेडदर सबैभन्दा कम छ । नबिल बैंकको स्प्रेडदर ४.४८ प्रतिशत हुँदा कुमारी बैंकको ४.४३ प्रतिशत स्प्रेडदर रहेको छ । नेपाल एसबिआई बैंकको स्प्रेडदर, ४.४०, एनआईसी एशिया बैंक ४.३९, सानिमा बैंकको ४.३९, एभरेष्ट र ग्लोबल आईएमई बैंकको ४.३८, प्रभु बैंकको ४.३४ प्रतिशत स्प्रेडदर रहेको छ ।

त्यसरी नै प्राइम, लक्ष्मी, सिटिजन्स, नेपाल बैंक, माछापुच्छ्रे र सिद्धार्थ बैंकले पनि ब्याजदर घटाउनु पर्ने प्रेसरमा छन् । यी बैंकको स्प्रेडदर राष्ट्र बैंकले निर्धारण गरेको भन्दा माथि स्प्रेडदर रहेकोले घटाउनकै लागि भएपनि ब्याजदर कम गर्नुपर्ने हुन्छ ।

स्प्रेडदर बढी भएका बैंकले फागुन महिनादेखि नै ब्याजदर केहि घटाउन सक्ने देखिएपनि कम स्प्रेडदर भएका बैंकहरूले सबैभन्दा पहिला यसलाई नै मेन्टेन गर्नुपर्ने देखिएको छ । राष्ट्र बैंकको नीति अनुसार चैत मसान्तसम्म वाणिज्य बैंकहरूले ४.२ प्रतिशत र असारमसान्तमा ४ प्रतिशतमा स्प्रेडदर कायम गर्नुपर्ने हुन्छ ।

पुस मसान्तसम्मको तथ्यांक अनुसार १४ वटा बैंकहरको स्प्रेड दर ४.२ प्रतिशतभन्दा माथि छ । यी १४ वटा बैंकहरुले चैत्र मसान्तसम्मको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गर्दा कम्तिमा स्प्रेड दर ४.२ प्रतिशतभन्दा तल झार्नु पर्ने हुनाले बाध्य छ । सो कारण यी ऋणहरूले ब्याज दर घटाउनु पर्ने हुन्छ ।

४.२ प्रतिशतभन्दा माथि ब्याजदर रहेका बैंकहरूले चाहे भने फागुन महिनाबाटै पनि कर्जाको ब्याजदर घटाउन सक्छन् । यस्ता बैकहरूले पुरानो ऋणको नवीकरण गर्दा वा नयाँ ऋण प्रवाह गर्दा स्प्रेड दर ४.२ प्रतिशतभन्दा तल आउने गरी ऋणको ब्याज दर कायम गर्ने सम्भावना रहेका बैंकर्स संघ स्रोतले बताएको छ ।

राष्ट्र बैंकले दिएको निर्देशन चालु आवको दोस्रो त्रैमासमै पुरा गरेका अर्थात ४.२ प्रतिशतभन्दा कम स्प्रेडदर भएका एनएमबि, हिमालयन, मगोसँग मर्ज भएर एकीकृत कारोबार सुरु गरिसेकेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, राष्ट्रि«य वाणिज्य बैंक, सनराइज, सिभिल, स्टयाण्र्डड चार्टड र कृषि विकास बैंकले चाहेमा भने ब्याजदर नघटाउन पनि सक्छन् ।

पर्ख र हेरको अवस्थामा बैंकहरू
विशेष गरेर फागुन महिनामा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा र बजेटको समेत अर्धवार्षिक समीक्षा आउने भएकोले यी दुबै नीतिले गर्ने व्यवस्था हेरेर बैंकहरूले ब्याजदर घटबढ गर्ने बुझिएको छ । बैकर्सहरू यति बेला ‘पर्ख र हेर’को अवस्था रहेको बुझिएको छ ।

बैंकहरूले सार्वजनिक गरेको पुसमहिनासम्मको वित्तीय विवरणमा प्राय सबै बैंकको आधारदर (बेसरेट) बढेको छ । आधारदर बढेका कारण बैंकहरू त्यसै पनि ब्याजदर घटाउन सक्ने अवस्था देखिदैन । पुसमसान्तसम्म बैंकहरूको ब्याजदर ९.६७ देखि ११.७३ प्रतिशतसम्म रहेको छ । माघबाट निक्षेपको ब्याज दर घटेको हुनाले आगामी त्रैमासमा बेस रेट घट्ने हुँदा सोही अनुपातमा ऋणको ब्याज दर घट्ने निश्चित भएको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स