८ विकास बैंकहरुको नाफा १ अर्ब ४२ करोड, मुक्तिनाथ बन्यो सबैभन्दा बढी नाफा कमाउने बैंक

काठमाडौं । राष्ट्रियस्तरका ८ विकास बैंकहरुले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा ८ विकास बैंकहरुले कुल १ अर्ब ४२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। यो अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा २९.०७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा यी बैंकहरुले १ अर्ब १० करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएका थिए।

यी ८ विकास बैंकहरुमध्ये सबैभन्दा बढी नाफा कमाउनेमा मुक्तिनाथ विकास बैंक रहेको छ ।

बैंकले असोज मसान्तसम्ममा २८ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.१७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले २२ करोड ८८ लाख खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै, गरिमा विकास बैंकको नाफा ५६.८२ प्रतिशतले बढेर २६ करोड ६ लाख रुपैयाँ, शाइन रेसुंगाको नाफा २४.८९ प्रतिशतले बढेर २३ करोड ९३ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको नाफा १६.५७ प्रतिशतले बढेर २० करोड १९ लाख रुपैयाँ, कामना सेवा विकास बैंकको नाफा ४६.४० प्रतिशतले बढेर १७ करोड ४९ लाख रुपैयाँ र सांग्रिला डेभलपमेन्ट बैंकको नाफा २९.१६ प्रतिशतले बढेर ६ करोड १ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा ज्योति विकास बैंकको नाफा सर्वाधिक १९७.६१ प्रतिशतले बढेर १५ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले ५ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै, समीक्षा अवधिमा महालक्ष्मी विकास बैंकको नाफा भने घटेको छ। बैंकको नाफा १.१४ प्रतिशतले घटेर ९ करोड ४२ लाख रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स