सूर्योदय लघुवित्तको नाफा १० करोड ५६ लाख, २३ रुपैयाँले बढ्यो ईपीएस

सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले गत असार मसान्तसम्म १० करोड ५६ लाख खुद नाफा कमाएको छ । सूर्योदयले १ वर्षको अवधिमा करिब १५० प्रतिशतले नाफा बढाएको छ । लघुवित्तले अघिल्लो असारमसान्तसम्ममा ४ करोड २४ लाख ५६ हजार नाफा कमाएको थियो ।

लघुवित्तले सार्वजनिक वित्तीय विवरणअनुसार सञ्चालन मुनाफा ऋणात्मक देखिएपनि खुद नाफा भने धनात्मक देखिएको छ । सञ्चालन मुनाफा ८ करोड ३७ लाख रुपैयाँ ऋणात्मक रहेको छ । निष्क्रिय कर्जा बढेसँगै सम्भावित जोखिम बापतको व्यवस्थामा उल्लेख्य रकम छुट्याउनु पर्दा लघुवित्तको सञ्चालन मुनाफा घटेको छ । लघुवित्तले असार मसान्तसम्ममा सम्भावित जोखिम बापतको व्यवस्थामा २५ करोड ५४ लाख रुपैयाँ छुट्याएको छ

यो अवधिमा लघुवित्तले खराब कर्जा उठाउन सफल भएका कारण लघुवित्तको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४५.३१ प्रतिशत बढेको छ । लघुवित्तले यो अवधिमा २५ करोड १३ लाख रुपैयाँ खराब कर्जा उठाएको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १५.३५ बढेको छ भने जगेडा कोष ५८.१६ प्रतिशत बढेको छ । लघुवित्तको सापटी समीक्षा अवधिमा ३७.७९ प्रतिशत बढेको छ । निक्षेप २४.३३ प्रतिशत र कर्जा ३७.७८ प्रतिशत बढेको छ ।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको प्रतिसेयर आम्दानी (ईपीएस) २२ रुपैयाँ ८३ पैसा बढेर ४२ रुपैयाँ ५८ पैसा कायम भएको छ । सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४०.६३ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७३ रुपैयाँ ८५ पैसा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स