पौने ६ लाख योगदानकर्ता रहेको सञ्चयकोषले मनायो ६३ औं वार्षिकोत्सव

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सञ्चयकोषले गरेको लगानीले प्रतिफल दिए नदिएको र सञ्चयकर्तालाई उच्च लाभ प्राप्त हुने नहुने विषयको विश्लेषण गर्नुपर्ने बताएका छन् ।

कोषको ६३ औं वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले लगानी गरेर चित्त बुझाउने मात्रै नभई सुक्ष्म निगरानी र कोषको हित भए नभएकोमा सचेत हुनुपर्ने बताए ।

‘सरकारको ‘जमानी’ मा लगानी गर्ने अवसर पाउनुभयो, कुनै संस्थामा २७ अर्बभन्दा बढी लगानी उठ्न बाँकी छ’, उनले प्रतिप्रश्न गरे ‘सरकार जमानी बसेको छ भनेर ढुक्क भएर बस्नु हुन्छ कि लगानी उठाउनका पहल गर्नुहुन्छ ?

‘लगानीले कस्तो प्रतिफल दिएको छ भन्नेलाई सुक्ष्म ढंगले हेर्नुपर्छ । बढीभन्दा बढी प्रतिफल सुनिश्चित गर्ने र सञ्चयकर्ताले अधिकतम् लाभ प्राप्त गर्नेतर्फ ध्यान दिनुपर्छ’,’ अर्थमन्त्री पौडेलले भने ‘ अधिकतम प्रतिफल सुनिश्चित हुनेगरी लगानीका दायरा विस्तार गरेर जानुपर्छ ।’

औसत गतिमा काम तथा दैनिक कार्यसम्पादनमा मात्रै सीमित नहुन पनि आग्रह गरे । सञ्चयकर्ताको भरोसा संरक्षण, सञ्चयको संरक्षण र कोषमा जम्मा भएको प्रतिफललाई विस्तरित र सञ्चयकर्तालाई अधितम लाभान्वित दिनेबारेमा सोच्नुपर्ने उनको भनाइ छ ।

वार्षिकोत्सवमा कोषका प्रशासक जितेन्द्र धितालले छ दशक लामो अनुभव, अन्तर्राष्ट्रिय असल अभ्यासको अनुसरण, सूचना प्रविधिमा आधारित कार्य प्रणाली, आधुनिक बैंकिङ सञ्जालको उपयोग, छरितो व्यवस्थापन प्रणालीको अवलम्बनमार्फत सेवा प्रवाहलाई अत्याधुनिक बनाउँदै लगिएको बताए ।

‘दीर्घकालीन वित्तीय स्रोतलाई विविधीकरण गरी मुलुकको आर्थिक विकासमा योगदान पुर्याउन कोष प्रतिबद्ध रहेको छ’, उनले भने ।

सो अवसरमा उपप्रधानमन्त्री पौडेलले कोषको वार्षिकोत्सव विशेषाङ्क विमोचन गरेका थिए । कार्यक्रममा लामो समय सेवा गर्नुभएका कर्मचारीलाई दीर्घ सेवा पदक प्रदान गरिएको थियो ।

कोषमा पौने छ लाख योगदानकर्ता

वि.सं २०१९ भदौ ३१ गते स्थापना भएको कोषमा ३३ हजार छ सय कार्यालयका पाँच लाख ७५ हजार योगदानकर्ता आबद्ध छन् । निवृत्तभरण कोषअन्तर्गत तीन हजार आठ सय कार्यालयका ८० हजार चार सय योगदानकर्ता कोषमा सूचीकृत भएका छन् ।

कोषले सञ्चयकर्तालाई स्वास्थ्य उपचार, सुत्केरी तथा शिशु स्याहार, दुर्घटना क्षतिपूर्ति र काजकिरिया अनुदान योजनाअन्तर्गत आर्थिक सुविधा उपलब्ध गराउँदै आएको छ । कोषले सञ्चयकर्ता वा निजको पति वा पत्नीको उपचार खर्चमध्ये साधारण रोगतर्फ प्रत्येक आर्थिक वर्षमा अधिकतम एक लाख र घाट रोगको उपचारका हकमा सेवा अवधिभर अधिकतम १० लाखसम्म शोधभर्ना गर्दै आएको छ ।

योगदानकर्तालाई दुई पटकका लागि प्रतिप्रसूति ७ हजार पाँच सय सुत्केरी तथा शिशु स्याहार खर्च, सञ्चयकर्ता वा निजको हकवालालाई २ लाखको दुर्घटना क्षतिपूर्ति र हकवालालाई ४० हजार काजकिरिया खर्च पनि उपलब्ध गराइरहेको छ ।

कोषले सञ्चयकर्तालाई ९० प्रतिशतसम्म विशेष सापटी, १ करोडसम्म घर, ४० लाखसम्म शैक्षिक, ३० लाख घर मर्मत, ४० लाखसम्म सरल र एक करोडसम्म जग्गा खरिद सापटी प्रदान गर्दै आइरहेको छ ।

आव २०८०÷०८१ मा सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत २६ हजारभन्दा बढी सञ्चयकर्ता÷हकवालालाई करिब ५४ करोड २५ लाख सुविधा उपलब्ध गराइएको कोषले जनाएको छ । कोषले गत असार मसान्तसम्म ४१ हजार छ सय ७० योगदानकर्तालाई घर सापटी, दुई हजार आठ सय ३१ जनालाई घरमर्मत, दुई हजार पाँच सय ७० जनालाई शैक्षिक, छ हजार एक सय २१ जनालाई सरल, छ सय ७३ जनालाई जग्गा खरिद सापटी प्रवाह गरेको छ ।

कोषले एक हजार एक सय ७२ मेगावट विद्युत् उत्पादनका लागि विभिन्न १० परियोजनामा करिब ६८ अर्ब रुपैयाँ र पूर्वाधार क्षेत्रका विभिन्न परियोजनामा २९ अर्ब गरी ९७ अर्ब रुपैयाँ प्रवाह तथा २३ कम्पनीमा १२ अर्ब सेयर लगानी गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स