काठमाडौं । आजभन्दा ८५ वर्षअघि राजा त्रिभुवनले वि.सं. १९९४ मा नेपाल बैंकको उद्घाटन गरेर नेपालमा पहिलो पटक बैकिङ प्रणालीको विकास गरेका थिए । नेपालको इतिहास बोकेको नेपाल कै पहिलो बैंक, नेपाल बैंक कार्तिक ३० गतेबाट सञ्चालनमा आएपछि नेपालमा बैंकिङ सेवा शुरु भएको हो ।

मान्छे जति बुढो भयो उति शिथिल र कमजोर हुँदै जान्छ । तर, कुनै पनि संघ संस्था भने जति पाको बन्दै जान्छन् त्यति नै बलियो र चुस्त बन्छन् । हो नेपाल बैंकले पनि स्थापनाकालदेखि हालसम्म विभिन्न आरोह अवरोधहरू पार गर्दै अहिले बलियो र प्रतिस्पर्धी बैंक बनेको छ ।

जति बेला नेपाल बैंक स्थापनाको १९ वर्षसम्म राष्ट्रको केन्द्रीय बैंक समेतको कार्य गर्दै नियामक निकायको भूमिका निभाउदै आएको यस बैंकले २०२२ सालसम्म एकल भुमिका खेल्दै नेपालभर बैंकिङ विस्तार गर्न, भारतीय मुद्राको प्रचलन हटाउन, अन्तराष्ट्रिय व्यापार/कारोबार अभिवृद्धि गर्न अहं भूमिका खेलेको थियो ।

राष्ट्रिय वाणिज्य बैंक तथा कृषि विकास बैंकको स्थापना भएपछि देशभर बैंकिङ सञ्जाल स्थापना गर्ने तत्कालिन सरकारको नीति बमोजिम यस बैंकले पनि आफ्नो शाखा सञ्जाल विस्तार गर्दै आएको पाइन्छ ।

यो बैंक स्थापना हुनु भन्दा पहिला सम्पूर्ण मौद्रिक कारोवारहरू निजी डिलर तथा व्यापारिक केन्द्रहरूबाट हुने गर्थो । १२ जना कर्मचारी र एकमात्र कार्यालयबाट सुरू भएको यो बैंकको अहिले देशभर २१३ शाखाबाट आम नागरिकलाई सेवा दिइरहेको छ । अहिले बैंकमा २ हजार ४ सय ९० प्रतिस्पर्धी कर्मचारीहरु छन् ।

नेपालको बैकिङ क्षेत्रको धरोहरका रुपमा रहेको यो बैंक त्यतिबेला नै पब्लिक प्राइभेट पार्टनरसीप (पीपीपी) मोडलमा स्थापना भएको हो । बैंकमा १० जना लगानीकर्ता थिए । ४० प्रतिशत सरकारी स्वामित्व थियो भने बाँकी  ६० प्रतिशत निजी क्षेत्रको लगानी हो ।

८ लाख ४२ हजार रुपैयाँ चूक्ता पुँजीबाट निजी–सरकार साझेदारीमा सुरु भएको बैंकको निक्षेप १७ लाख थियो भने लगानी १९ लाख रुपैया थियो । बैकिङ अवधारणा नबुझेको त्यतिबेलाको समयमा बर्षान्तमा १४ हजार बचत भएको थियो ।

बैंक आफैले थेग्नै नसक्ने यस्तो थियो समस्या

२०४० साल पश्चात देशले उदारीकरण नीति अंगिकार गरे पश्चात नेपालमा विभिन्न वैदेशिक लगानीका बैंकहरुको स्थापना हुन थाले । बजारमा एक छत्र राज गरेको बैंकका विकल्पमा अन्य बैंक पनि आउन थालेपछि बैंकिङ क्षेत्र पनि प्रतिस्पर्धी हुँदै गयो ।

२०४६/४७ को राजनैतिक परिवर्तन पश्चात निर्वाचित नेपाली काँग्रेसको सरकारले अवलम्वन गरेको नीजिकरण नीतिले निजीक्षेत्रलाई बैंक तथा वित्तिय संस्थाहरु स्थापना गर्न थप प्रोत्साहन गर्‍यो । परिणामस्वरुप देशमा दर्जनौ वाणिज्य बैंकहरुको स्थापना भए र त्यसपछि बैंकिङ बजार निक्कै प्रतिस्पर्धी हुन थाल्यो ।

एकातिर बढ्दो प्रतिस्पर्धा र अर्कोतर्फ देशमा राजनैतिक अस्थिरताका कारणले नेपाल बैंकको बजार क्रमशः संकुचित हुन थाल्यो । कर्मचारीहरु पुरानै ढर्राबाट संचालित हुनु, परिर्वतनलाई स्विकार गरी सोही बमोजिम आफूलाई पविर्तन गर्न नसक्दा तथा नयाँ नयाँ प्रोडक्टहरु बजारमा ल्याउन नसक्दा बैंकको प्रतिस्पर्धी क्षमता क्षिण हुँदै गयो ।

नेपाल राष्ट्र बैंकद्वारा जारी नयाँ नयाँ नीति निर्देशनहरु अंगिकार गर्न कठिनाई हुँदै जानु, अधिक राजनैतिक हस्तक्षेप हुनु, कर्जा लगानी गर्दा भएका बदमासीपूर्ण निर्णयहरु र तत्कालिन समयमा माओवादीबाट भएको जनयुद्धका कारणले बैंकका विभिन्न शाखाहरुमा पुगेका हानी नोक्सानी आदीले बैंक ओरालो लाग्दै २०५७/५८ सम्म निक्कै जर्जर अवस्थामा पुगेको थियो ।

२०५८/५९ मा बैंकको जम्मा निक्षेप ३४ अर्ब, कर्जा १९ अर्ब, लगानी ७ अर्ब, खराब कर्जा करिब ५७ प्रतिशत, खुद सम्पत्ति करिब ९.५ अर्बले नकारात्मक, सोही वर्षको वार्षिक घाटा करिब ३ अर्ब, र करिब ९.९४ अर्बको नकारात्मक रिजर्ब एण्ड सरप्लस रहेको थियो । अत्यधिक कर्मचारीका कारण बैंकको ठूलो दायित्व थियो । त्यतिबेला करिब ५ हजार ६ सय ५२ कर्मचारी थिए ।

यी सबै कारणले बैंक सञ्चालन नै हुन नसक्ने अवस्थामा पुगेपछि बैंक विघटन गर्ने वा पूर्नसंरचना गरी चुस्त स्फूर्त एवम् प्रतिस्पर्धी बनाउने दुई विकल्प सरकार समक्ष आयो । सरकारले दास्रो विकल्प छनोटगरी विश्व बैंकबाट ऋण सहयोग लिएर वित्तिय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत(आईसीसीएमटी) मार्फत बैंक सुधार गर्न सुरु गरिएको हो ।

परिणाम स्वरुप बैंकमा स्वैछिक अवकाश लागुगरी प्रविधिमैत्री कर्मचारीहरुको भर्ना, खराब कर्जाको असुलीमा जोड, बैंक सञ्चालनका लागी विभिन्न निर्देशिकाहरु, म्यानुअलहरु आदीको तर्जुमा, नयाँ प्रविधिको कम्प्युटराईजेशन तथा नयाँ बैंकिङ सफ्टवेयरको प्रयोग लगायतका कार्यको थालनीले बैंक अहिलेको अवस्थामा पुगेको हो ।

अहिले यस्तो बन्यो बैंक
धातुको टोकनबाट सुरु भएको नेपाल बैंकमा दर्जन प्रमुख कार्यकारी अधिकृत फेरिसकेका छन् । अहिले बैंकिङ ईण्डस्ट्रीजमा प्रतिस्पर्धी, अत्याधुनिक प्रविधिमैत्री, दक्ष कर्मचारी, देशभर शाखा संजाल भएको एक ससक्त बैंकको रुपमा नेपाल बैंक स्थापित भएको छ । हाल प्रधान कार्यालय सहित ७ वटा प्रादेशिक कार्यालय, २१३ शाखा कार्यालय, ४६ एक्स्टेन्सन काउण्टर, १४७ एटिम बुथ रहेका छन् ।

अहिले बैंकका वित्तीय परिसूचकहरू माथि उक्लदो क्रममा रहेको छ । परिणामस्वरुप बैंकको निक्षेप १ खर्ब ७० अर्ब ९४ करोड, कर्जा लगानी १ खर्ब ६० अर्ब, नाफा ३ अर्ब भन्दा बढी कायम राख्न सफल भएको छ ।

आधुनिक प्रविधिलाई अपनाउदै सेफ डिपोजिट लकर, मोबाईल बैंकिङ, एटिएम कार्ड, क्रेडिट कार्ड, डीएमएस प्रविधिबाट छिटो कर्जाको स्विकृति, पीओएस, क्यूआर कोर्डबाट भुक्तानी गर्न सक्ने बैंक बनेको बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले बताए ।

इण्टरनेट बैकिङ, अनलाईन एकाउण्ट ओपनिङ, अनलाईन डिम्याट, नागरिक एप बाट खाता खोल्ने, बैंकको आफ्नै मोबाईल एप, अनलाईन केआईसी, बैंकको आफ्नै एनबीएल रेमिटजस्ता अत्याधुनिक प्रविधिमैत्री प्रडक्ट तथा सेवाहरु सञ्चालमा ल्याएर आफूलाई अब्बल बैंकको रुपमा सावित गरिरहेको छ ।

स्थापना कालमा बैंकको नेतृत्व प्रमुख कार्यकारीको रुपमा ठाकुर सिं कठायतले गरेका थिए भने अहिले कृष्णवहादुर अधिकरीले गरेका छन् । नयाँ नेतृत्वसँगै बैंक आफ्नो यात्रामा प्रगति गर्दै अघि बढी रहेको छ ।

 

हेडलाइन्स