काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले १ अर्ब २७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २.४८ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
बैंकको कुल सञ्चालन आम्दानी ०.८७ प्रतिशत र सञ्चालन मुनाफा १.५० प्रतिशत बढेको छ। बैंकको निक्षेप ५.७५ प्रतिशत घटेको छ भने कर्जा २.७१ प्रतिशत घटेको छ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १.९२ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १२.०८ प्रतिशतले घटेको छ। बैंकको वितरणयोग्य मुनाफा भने ३३ करोड १८ लाख रुपैयाँ रहेको छ।
गत असार मसान्तसम्मा बैंकको खराब कर्जा ०.९८ प्रतिशतबाट बढेर २.२६ प्रतिशत पुगेको छ। बैंकको इम्पेरमेन्ट चार्ज सामान्य बढेर ६४ करोड ८५ लाख रुपैयाँ पुगेको छ।
बैंकको चुक्ता पुँजी ७ अर्ब ४ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ अर्ब ५० करोड रुपैयाँ सञ्चित रहेको छ।
बैंकको प्रतिसेयर आम्दानी १.२९ रुपैयाँले घटेर १८.१५ रुपैयाँमा झरेको छ। त्यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ १४९.७१ रुपैयाँ र मूल्य आम्दानी अनुपात २०.२२ गुणा रहेको छ।