काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ३ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.७८ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब १६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
समीक्षा अवधीमा बैंकको खुद ब्याज आम्दानी २.३३ प्रतिशत घटेर ७ अर्ब ९९ करोड ३५ लाख रुपैयाँमा सीमित बनेको छ । सोही अवधिमा बैकको खुद फि तथा कमिशन आम्दानी ३.४३ प्रतिशत बढेर १ अर्ब ३९ करोड १८ लाख रुपैयाँ पुगेको छ ।
बैंकको कुल सञ्चालन आम्दानी ०.६१ प्रतिशत र सञ्चालन मुनाफा ६.१० प्रतिशतले घटेको छ। समीक्षा अवधिमा बैंकको खराब कर्जा २.०१ प्रतिशतबाट बढेर २.२२ प्रतिशत पुगेको छ। जसका कारण बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब २३ करोड पुगेको छ।
बैंकको वितरणयोग्य मुनाफा भने ३६ करोड ६६ लाख रुपैयाँ रहेको छ।
१४ अर्ब ८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १३ अर्ब ५७ करोड रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप ७.९० प्रतिशतले बढेको छ भने कर्जा ६.१५ प्रतिशतले बढेको छ।
बैंकको प्रतिसेयर आम्दानी १.७ रुपैयाँले घटेर २१.४० रुपैयाँमा झरेको छ। त्यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ १९६.३६ रुपैयाँ र मूल्य आम्दानी अनुपात १३.२२ गुणा रहेको छ।