काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् ।
कम्पनीको साउन १० गते बसेको सञ्चालक समितिको बैठकले रेग्मीलाई भदौ १ गतेबाट लागू हुने सीईओमा नियुक्त गरेको हो ।
रेग्मीसँग बैंकिङ क्षेत्रमा ३५ वर्ष लामो काम गरेको अनुभव रहेको छ ।
रेग्मीले बेलायतको युनिभर्सिटि अफ वेल्सबाट सन् २००१ मा एमबीए गरेका छन् । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । बैंकिङ् क्षेत्रसँग सम्बन्धित दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिमहरु लिएका रेग्मी मर्जर व्यवस्थापन तथा कर्जा लगानी क्षेत्रमा पनि अब्बल मानिन्छन् ।
हालका बैंकका सीईओ रत्नराज बज्राचार्य बैंकबाट भदौदेखि बाहिरिने भएका छन् ।
उनले व्यापार नीति, औद्योगिक ऋण, ऋण रिकभरी, शाखा सञ्चालन, ऋण जोखिम तथा प्रशासन जस्ता विभिन्न बैंकिङ विभागमा कार्यानुभव हासिल गरिसकेका छन् । उनी यसअघि कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए ।