काठमाडौं । कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
बैंंकले असार मसान्तसम्म ६० करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा ६६.९३ प्रतिशतले बढी हो। गत आवमा बैंकले ३६ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
बैंकको खुद ब्याज आम्दानी ३ प्रतिशत बढेर २ अर्ब १२ करोड ५२ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले २ अर्ब ६ करोड ७६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
समिक्षा अवधिमा बैंकको नेट फि एण्ड कमिसन आम्दानी २६ करोड ९२ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी २ अर्ब ४८ करोड ६४ लाख रुपैयाँ, सञ्चालन नाफा ९७ करोड ८४ लाख रुपैयाँ गरेको छ ।
बैंकको वितरणयोग्य नाफा ३५ करोड ७८ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ३ अर्ब २८ करोड ११ लाख रुपैयाँ र जगेडा कोष १ अर्ब ७५ करोड ७७ लाख रुपैयाँ रहेको छ । साथै बैंकले गत वर्ष ५९ अर्ब ६ करोड ६७ लाख रुपैयाँ निक्षेप संकलन गरी ४५ अर्ब ९९ करोड ४३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको ईपीएस ७.३७ रुपैयाँ बढेर १८.३८ रुपैयाँ पुगेको छ। त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात २२.६३ गुणा छ भने प्रतिसेयर नेटवर्थ १६४.४८ रुपैयाँ रहेको छ।