मौद्रिक नीति पास गर्न अहिले ८.१५ बजे राष्ट्र बैंक सञ्चालक समितिको बैठक बस्दै, सेयर कर्जाको सीमा हट्ने

अर्थतन्त्र चलायमान बनाउन यस्तो आउँदैछ नीति

काठमाडौं । आज नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । हिजो बिहीबार नवनियुक्त अर्थमन्त्री विष्णु पौडेललाई भेटेपछि राष्ट्र बैंक गभर्नर कार्यालयले आज बिहान ८.१५ बजे बोर्ड बैठक बोलाएको छ । गभर्नर अधिकारीले अर्थमन्त्री पौडेललाई मौद्रिक नीतिका वारेमा ब्रिफिङ गर्नु अघि नै राष्ट्र बैंक उच्च व्यवस्थापनबाट मौद्रिक नीतिको मस्यौदा पास भइसकेको छ ।

राष्ट्र बैंक उच्च व्यवस्थापन अनुसार मौद्रिक नीतिले ‘बजार चलायमान बनाउने’ नीति लिने बुझिएको छ । अर्थमन्त्री पौडेल र गभर्नर अधिकारीको ट्युनिङ मिलेपछि अर्थतन्त्र चलायमान बनाउने मौद्रिक उपकरण प्रयोगमा आउने बुझिएको छ ।
प्रधानमन्त्रीका आर्थिक सल्लाहकारमा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा नियुक्त भएपछि बजारले फेरि उस्तै कसिलो मौद्रिक नीति आउने आँकलन गरेपनि उनी आफैको पनि लामो समयदेखि सेयर बजारमा लगानी फसेपछि बजार खुला गर्ने लबिङमा थिए ।

अहिले प्रधानमन्त्रीको आर्थिक सल्लाहकार नै भएपछि उनले पनि सेयर कर्जाको सीमा हटाउन भुमिका खेल्ने देखिएको छ । त्यसो त उनले विभिन्न सार्वजनिक कार्यक्रममा समेत सेयर बजारका वारेमा सकारात्मक टिप्पणी गर्दै आएका छन् ।

सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने चुनौति बोकेका अर्थमन्त्री पौडेलले पनि बजारलाई सहज बनाउन भुमिका खेल्ने नै छन् । नयाँ सरकार गठन भएपछि गभर्नर अधिकारीले पनि मुड चेन्ज गरेर अर्थतन्त्रलाई बलियो बनाउन भुमिका खेल्ने देखिएको छ । यसको फल अझ मिठो हुने आशामा अहिले उनी पनि खुकुलो मौद्रिक नीति ल्याउन कसिएका छन् ।

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीतिप्रति अपेक्षा सबै सरोकारवाल पक्षहरूको रहेकोले सबैको समाधान मौद्रिक नीति हुन नसक्ने संकेत राष्ट्र बैंक अघिकै छलफलमा स्पष्ट पारिसकेको छ ।

निजी क्षेत्र र बैंकर्सको समस्या सम्बोधन गर्नेमा मौद्रिक केन्द्रित हुने राष्ट्र बैंकले बताएको छ । ब्याजदर घटेको, बजारमा अधिक तरलता भएर राष्ट्र बैंकले तरलता खिच्न ठूलो लागत खर्च गर्नुपर्ने अवस्था छ । रिकभरी दबाबमा रहेका बैंकहरूको कर्जा विस्तार नहुँदा मुनाफाको दबाबमा छन् । सो कारणले पनि अहिले बजार चलायमान बनाउने नीति नै चाहिन्छ ।

घरकर्जादेखि हायर पर्चेज तथा सेयर बजारको व्यक्तिगत र संस्थागत दुबै सीमा हटाएर अर्थतन्त्र चलायमान बनाउनुका साथै सहकारी नियमनमा समेत मौद्रिक नीतिले सम्बोधन गर्ने बुझिएको छ । साथै बैंकहरूको खराब कर्जा व्यवस्थापन गर्नेको लागि एसेट म्यानेजमेन्ट कम्पनी स्थापनाको लागि समेत केहि पहल कदमी हुनेछ ।

‘शुक्रबार बिहानको बैठकमा छलफल टुंगियो भने दिउँसो १/२ बजे नै मौद्रिक नीति सार्वजनिक हुनेछ । छलफल सकिएन भने १ बजेपछि अर्को बैठक बसेर भए पनि साँझसम्म मौद्रिक नीति सार्वजनिक गर्ने तयारी राष्ट्र बैंकले गरेको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स