काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नायब प्रमुख कार्यकारी अधिकृत पदमा प्रसिद्ध राज अर्याल र नायब महाप्रबन्धकमा पदमा सुभाष जमरकटेललाई बढुवा गरेको छ ।
बैंकको असार २७ गते बसेको संचालक समितिको बैंठकले साउन १ गतेबाट लागू हुने गरी उनहिरुलाई सो पदमा बढुवा गर्ने निर्णय गरेको हो ।
काठमाडौं विश्वविद्यालयबाट व्यापार प्रशासन संकायमा स्नातकोतर गरेको अर्यालसँग कर्जा, ट्रेजरी तथा करेसपोन्डेन्ट बैंकिङ, शाखा संचालन र लघुवित्त जस्ता विभिन्न बैंकिङ क्षेत्रमा १६ वर्ष भन्दा बढीको अनुभव, ज्ञान र कौशल रहेको छ ।
अर्याल यसअघि सिभिल बैंक, सनराइज बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकमा समेतमा रही विभिन्न पदमा कार्य गरेको अनुभव रहेको छ । यसैगरी सन् २०१० देखि आफ्नो बैंकिङ करियर सुरु गरेका सुभाष जमरकटेल सन् २०११ देखि माछापुच्छ्रे बैंकमा आवद्ध रहेका छन् ।
जमरकटेल लेखा र बैंकिङ क्षेत्रमा विशेषज्ञता भएको उच्च दक्ष र अनुभवी चार्टर्ड एकाउन्टेन्टको रुपमा चिनिन् छन् । उनले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट अफ इन्डिया बाट चार्टर्ड एकाउन्टेन्सी र नेपालको त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन तथा कानूनमा स्नातक तहको डिग्री प्राप्त गरेका छन् ।
यसबाहेक उनले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी), थाइल्याण्डबाट बैंकिङ र फाइनान्समा प्रोफेसनल मास्टर्स डिग्री समेत हासिल गरेका छन् ।
उनीहरु दुवै जना आफ्नो बैंकिङ करियरको छोटो समयमा नै उल्लेख्य प्रगति हासिल गर्न सफल बैंकरको रुपमा चिनिन् छन् ।