खराब कर्जा बढेसँगै बैंकहरूको गैर बैंकिङ सम्पत्ति बढेर साढे २७ अर्ब नाघ्यो

काठमाडौं । खराब कर्जा बढेसँगै बैंक तथा वित्तीय संस्थाहरूको गैर बैंकिङ सम्पत्ति पनि बढेको छ । चालु आर्थिक वर्षको वैशाख महिनासम्म बैंकहरूको गैर बैकिङ सम्पत्ति बढेर २७ अर्ब ६० करोड १३ लाख रुपैयाँ पुगेको हो । चालु आर्थिक वर्षको वैशाख महिनासम्म बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढेर ३.९८ प्रतिशत पुगेको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्म बैंकहरूको यस्तो गैर बैकिङ सम्पत्ति बढेर १८ अर्ब ६८ करोड ८५ लाख रुपैयाँमात्रै थियो । बैंक तथा वित्तीय संस्थाको सो गैर बैंकिङ सम्पत्तिमध्ये २३ अर्ब ७४ करोड रुपैयाँ वाणिज्य बैंकहरूको हो भने विकास बैंकहरूको गैर बैंकिङ सम्पत्ति २ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूले नउठेको कर्जाको धितो लिलामी बिक्री नभएमा आफैंले सकार्छन्। यसरी सकारेको सम्पत्ति नै गैर–बैंकिङ सम्पत्ति हो । सकारेपछि पनि यस्तो सम्पत्ति सकेसम्म चाँडै बिक्री गर्नुपर्ने नियम छ ।

गैर–बैंकिङ सम्पत्ति सकार गरेकै समयबाट बैंकहरूले यसको जोखिमबाट बच्न शत प्रतिशत बराबर रकम प्रावधानमा राख्नुपर्ने हुन्छ । गत महिना चैतको तुलनामा भने गैर बैकिङ सम्पत्ति घटेको छ भने फाइनान्स कम्पनीहरूको गैर बैकिङ सम्पत्ति १ अर्ब ३४ करोड रुपैयाँ रहेको छ । अन्य बैैंकहरूको गैर बैंकिङ सम्पत्ति बढिरहँदा स्टयाण्र्डड चार्टर्ड बैंकको भने गैर बैंकिङ सम्पत्ति नभएको देखाएको छ ।

चालु आर्थिक वर्षको यो अवधिसम्म सबैभन्दा बढी गैर बैंकिङ सम्पत्ति एनआईसी एशिया बैंकको रहेको छ । बैंकको गैर बैंकिङ सम्पत्तिमात्रै ४ अर्ब १४ करोड ९२ लाख रुपैयाँ रहेको छ ।

गैर बैंकिङ सम्पत्ति बढी हुनेमा ग्लोबल आईएमई बैंक रहेको छ । बैंकको यस्तो सम्पत्ति ३ अर्ब २६ करोड ११ लाख रुपैयाँ रहेको छ भने तेस्रो स्थानमा परेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक २ अर्ब २९ करोड ९२ लाख रुपैयाँ गैर बैकिङ सम्पत्ति रहेको छ ।

प्राइम कमर्शियल बैंकको गैर बैकिङ सम्पत्ति २ अर्ब २२ करोड र कुमारी बैंक १ अर्ब ८८ करोड गैर बैंकिङ सम्पत्ति रहेको छ । त्यसैगरी नबिल बैंक १ अर्ब ६४ करोड ५६ लाख, हिमालय बैंक १ अर्ब ४५ करोड १२ लाख, माछापुच्छ्रे बैंक १ अर्ब ४५ करोड, लक्ष्मी सनराइज बैंकको १ अर्ब ३४ करोड रुपैयाँ गैर बैंकिङ सम्पत्ति रहेको छ ।

नेपाल एसबिआई बैंक ७ करोड ६५ लाख, एभरेष्ट बैंकको २८ करोड ९८ लाख, सिद्धार्थ बैकको ६९ करोड ५१ लाख, सिटिजन्स इन्टरनेशल बैंकको ५२ करोड ८२ लाख, एनएमबि ७७ करोड ८१ लाख, प्रभु बैंक ६७ करोड २८ लाख र सानिमा बैंक ४० करोड १८ लाख गैर बैकिङ सम्पत्ति रहेको छ ।

चालु आर्थिक वर्षको १० महिनामा नेपाल बैंकको गैर बैकिङ सम्पत्ति १६ करोड ५० लाख रुपैयाँ पुगेको छ भने राष्ट्रिय वाणिज्य बैंकको गैर बैंकिङ सम्पत्ति १८ करोड ४७ लाख रुपैयाँ पुगेको छ ।

यस्तो सम्पत्ति सकार्ने प्रावधान कस्तो छ ?
यस्तो सम्पत्ति व्यवस्थापनको लागि अलग्गै कम्पनीको आवश्यकता पर्ने भन्दै बैंकरहरूले आवाज उठाउँदै आएको छन् । २०६५ सालमै केही बैंक तथा वित्तीय संस्थाहरूमा समस्या आउँदा सम्पत्ति व्यवस्थापन कम्पनीको चर्चा चलेको थियो। तर, हालसम्म यसमा प्रभावकारी काम हुन सकेको छैन।

भारतमा इण्डिया डेब्ट रिसोलुसन कम्पनी र नेशनल असेट रिकन्ट्रक्सन कम्पनीमार्फत् बैंकिङ क्षेत्रको यस्तो सम्पत्तिको व्यवस्थापन हुँदै आएको छ।

सन् २०२१ मा स्थापना भएको भारतमा इण्डिया डेब्ट रिसोलुसन कम्पनीलाई ’ब्याड बैंक’को नामले समेत चिनिन्छ। त्यसअघि पनि स–साना रकमका खराब कर्जा व्यवस्थापनको लागि करिब २८ वटा असेट रिकन्ट्रक्सन कम्पनीहरू थिए।

इण्डिया डेब्ट रिसोलुसन कम्पनीले बैंकहरूको बिग्रिएको कर्जालाई सकार्छ र बैंकहरूको वित्तीय विवरणमा खराब कर्जा देखिँदैन। विशेषतः सरकारी लगानी रहेका बैंकहरूको खराब कर्जा सकार्ने उद्देश्यले यो ब्याड बैंकको स्थापना गरिएको हो।

नेशनल असेट रिकन्ट्रक्सन कम्पनीले यसरी सकारिएको सम्पत्तिको व्यवस्थापन, मूल्य अभिवृद्धि गर्ने लगायतको काम गर्छ। यस्ता सम्पत्ति सम्भावित लगानी कोष वा अन्यलाई बिक्री गरिन्छ। भारतले यी दुवै कम्पनीबीच मर्जर गर्ने तयारी गरेको भए पनि सफल हुन सकेको छैन।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स