काठमाडौं । जिल्लाको डुडुवा गाउँपालिकाले ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियानअन्तर्गत ‘कन्या मुद्दती खाता’ खोलिदिए पछि अभिभावक खुशी भएका छन् । छात्राको पढाइलाई निरन्तरता दिन र उमेर नपुगी विवाह हुने प्रचलनलाई अन्त्य गर्न गाउँपालिकाले सो अभियान सुरुआत गरेको हो ।
गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गाउँपालिका भित्रका विद्यालयमा अध्ययनरत सबै बालिकाको नाममा खाता खोलिदिने व्यवस्था मिलाएको जानकारी दिए । उनका अनुसार यस्ता बालिकाको बैँक खातामा १० हजार जम्मा गरिदिने र २० वर्ष नपुगी निकाल्न नपाउने व्यवस्था गरिएको छ ।
‘छोरीको पढाइ पूरा होस् र उमेर नपुगी विवाह पनि नहोस् भन्ने उद्देश्यले अभियान थालेका हौँ, छोरीले हरेक किसिमबाट असुरक्षित महसुस गर्नुपर्ने वातावरण अन्त्य गराउनु हाम्रो प्रमुख ध्येय हो,’ उनले भने ।
गाउँपालिकाले अभिभावकको मृत्यु भएमा वा आफैँ कुनै कारणले अशक्त भए खाताको रकम निकाल्न पाउने गरी कार्यविधिसमेत बनाएको छ । यसबाट अभिभावक निकै उत्साहित भएका छन् । डुडुवाका ६ वडाभित्रका सबै बालिकाका नाममा कन्या मुद्दती शिक्षा कार्यकम लागू गरिएको अध्यक्ष चौधरीले जानकारी दिए । यसका लागि यस वर्ष ४० लाख छुट्याइएको छ । उक्त कार्यक्रममा समेटिन बालिका स्वास्थ्य सस्थामा जन्मिएको प्रमाणपत्र, जन्मदर्ता तथा वडा कार्यालयको सिफारिस हुनुपर्छ ।
बेटी बचाऊ, बेटी पढाऊँ नीति तथा कार्यक्रमअन्तर्गत पालिकाका सबै वडामा जन्मिने नवजात छोरीका नाममा कन्या मुद्दति खाता सञ्चालन गरिरहेको उनले जानकारी दिए । खातामा जम्मा भएको रकम उनी २० वर्ष पुगेर नागरिकताको प्रमाणपत्र प्राप्त गरेपछि उनैलाई हस्तान्तरण गरिदिने व्यवस्था कार्यविधिमा छ ।
अभिभावकको रोहवरमा स्थानीय सरकारले सबै छोरीको खाता खोलिदिने र नगद पनि जम्मा गरिदिने व्यवस्था गरेको छ । ‘बैंक खाता छोरीको शिक्षा र सुरक्षालाई ध्यान दिइ अभियान ल्याएका हौं,’ उनले भने ‘गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले भने ‘खासमा छोरीहरुको साक्षरतादर बढाउने र बालविवाह न्यूनीकरण गर्ने यसको उद्देश्य हो । यसका साथै अभिभावकको क्षति कम गर्न रु पाँच लाखको दुर्घटना बिमा पनि गराएका छौँ ।’
खाता खोल्दा सुरुमा अभिभावक आफैँले रकम जम्मा गर्नुपर्ने र गाउँपालिकाले पाँच हजार थपिदिने योजना बनाइएको थियो । कार्यक्रमका स्रोत व्यक्ति दिपेश चौधरीले भने ‘धेरै अभिभावकको पैसा तिर्न सक्ने हैसियत नभएकाले २०७८ साउनदेखि भने पालिकाले नै रु १० हजार राखेर खाता खोलिदिने निर्णय ग¥यो ।’
गाउँपालिका शिक्षा अनि चेतनाको दृष्टिले पछाडि छ । छोरीलाई पढाउन खासै चासो दिइन्नँ । अधिकांश छोरी घरको सानोतिनो काम र गाईवस्तु चराउनमै बिताउँछन् । धेरै अभिभावकले छोरीलाई विद्यालय नपठाउने गरेको शिक्षक गोपीचन्द्र बर्माले बताए । ‘कति त नाबालकमै विवाह गरेका कारण विद्यालय आउँदैनन् पालिकाको योजना लागू भएसँगै छोरीको उच्च शिक्षा पढ्ने चाहने पूरा हुनेमा विश्वास बढेको छ ।’
विसं २०७७ साउनपछि जन्मेका सबै छोरीको बैंक खाता खोलिदिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले जानकारी दिए । उनका अनुसार खाता खोलिदिने र पहिलो वर्ष १० हजार जम्मा गरिदिने कार्यक्रम आकर्षक र प्रभावकारी भएको जानकारीदिए । बैंक खाता खोलिएसँगै धेरै परिवारलाई छोरीको पढाइ अनि विवाहको चिन्ता हटेको छ ।
डुडुवा–६ रामनगर उचुवाकी सुनिता गोडियालाई कान्छी छोरीको बैंक खाता खोलिएपछि मन ढुक्क भएको छ । तीन छोरीमध्ये लक्ष्मीको मात्र बैंकमा खाता छ । अन्य छोेरीको पालामा गाउँपालिकामा कन्या मुद्दती खाता योजना आएकै थिएन ।
लक्ष्मी बल्ल तीन वर्ष हुँदैछिन् ।
सुुरुमा रु पाँच हजार बुझाएँ, हामी मजदुरी गर्नेले वर्षौँ यत्तिका पैसा बुझाउन कहाँ सक्थ्यौ,’ उनले भने ‘अहिले पालिका आफैँले वर्षको १० हजार खातामा जम्मा गरिदिँदा धेरै खुशी छौँ । उनले स्थानीय सरकारले ल्याएको कन्या मुद्दती खाताप्रति खुशी व्यक्त गर्दै यसले आर्थिक टेवा समेत सहयोग पुगेको बताए । यस कार्यक्रमअन्तर्गत हालसम्म १७२ छोरीको खाता खोलिएको छ । उनीहरू सबै तीन वर्षमुनिका छन् । उनीहरु सबैको बिमासमेत गरिएको छ ।