काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १५औँ वार्षिक साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीको अध्यक्षतामा मंगलबार सम्पन्न भएको छ । साधारणसभाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १६ प्रतिशत लाभांश दिन गरेको प्रस्ताव सर्वसम्मतबाट पारित गरेको छ ।
बैंकले १ अर्ब ६२ करोड ४० लाख ५० हजार ८९१.१० रुपैयाँ बराबरको बोनस सेयर र ३.०८७ प्रतिशतका दरले हुन आउने ३८ करोड ८२ लाख ५६ हजार ८०७.२४ बराबरको नगद लाभांश (लाभांश करसमेत) दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको हो ।
साधरणसभाले सर्वसाधारणको तर्फबाट प्रकाश चन्द्र मैनाली र विजयध्वज कार्कीलाई सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेको छ । सभाका अध्यक्षले सेयर धनीहरूबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारबाही सञ्चालन गर्ने र भविष्यमा बैंकले अझ बढी प्रगति हासिल गर्ने सक्ने विश्वास सभालाई गराए ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिक सम्ममा करिब १ खर्ब ४६ अर्ब ११ करोड निक्षेप संकलन गरेको छ भने १ खर्ब ३१ अर्ब ५६ करोड ऋण प्रवाह गरेको छ । यस बैंकले सोही अवधिभित्र ६८ करोड ७४ लाख खुद नाफा आर्जन गरेको छ । बैकको चुक्ता पुँजी १४ अर्ब ८ करोड २८ लाख पुगेको छ । धितोपत्र बैंकको सेयर प्रतिकित्ता ३ सय १ रुपैयाँ रहेको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा एटिएम र ११२ वटा शाखा रहित बैंकिङ इकाईहरूबाट करिब १२ लाख ५० हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।
डिजिटल बैंकिङको अभियान अनुरुप बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न, मोबाइल बैंकिङको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झटबाट मुक्त हुन घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरूहरू रहेका छन् ।
बैंक साधारणसभाले आर्थिक वर्ष २०७७÷७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिएको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ असार मसान्तको एनएफआरएस बमोजिम तयार गरिएको वासलात, आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरू छलफल गरी स्वीकृत भएको छ ।
कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असरलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्वन गरी विद्युतीय माध्यम र भौतिकरुपमा एकसाथ साधारण सभा सञ्चालन गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बताए ।