काठमाडौं । चालु आर्थिक वर्षको चैतसम्म सरकारले दिएको सहुलियत ब्याजदरमा १ खर्ब ४० अर्ब ४९ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । राष्ट्र बैंकबाट बैंकहरूले १ खर्ब ९९ अर्ब रुपैयाँ कर्जा स्वीकृत लिएपनि बैंकहरूले सो मात्रै कर्जा प्रवाह गरेका हुन् । १ लाख २७ हजार २१२ ऋणीलाई सो कर्जा उपलब्ध गराएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।
सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान कार्यविधिले दिएको व्यवस्था अनुसार सबैभन्दा बढी कर्जा उपयोग कृषि विकास बैंकले गरेको छ । बैंकले सो कार्यविधि अनुसार ब्याज सहुलिययमा १६ अर्ब ९२ करोड ८४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले १४ हजार २६० ऋणीलाई सो कर्जा प्रवाह गरेको हो । बैंकले राष्ट्र बैंकबाट २२ अर्ब ७७ करोड ७७ लाख रुपैयाँ ब्याज अनुदान कर्जा स्वीकृत गराएको थियो ।
ब्याज अनुदानमा बढी कर्जा दिने दोस्रो बैंकमा नबिल बैंक बनेको छ । नबिल बैंकले ८ हजार २९ ऋणीलाई १० अर्ब ५२ करोड ९० लाख रुपैयाँको ब्याज कर्जा उपलब्ध गराएको थियो । बैंकले १३ अर्ब ७० करोड ३२ लाख रुपैयाँको ब्याज अनुदान कर्जा स्वीकृत गराएको थियो ।
सरकारी स्वामित्वको कृषि विकास बैंकले सबैभन्दा बढी सहुलियत कर्जा उपलब्ध गराउँदा पूर्ण सरकारी स्वामित्वको भन्दा पनि फरक नपर्ने राष्ट्रिय वाणिज्य बैंकले भने नबिल बैंकको भन्दा कम कर्जा उपलब्ध गराएको छ । बैंकले १० अर्ब ३२ करोड २२ लाख रुपैयाँमात्रै सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको हो ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ८ अर्ब ४८ करोड रुपैयाँको सहुलियतपूर्ण कर्जा उपलब्ध गराउँदा कुमारी बैंकले ८ अर्ब ३९ करोड रुपैयाँको कर्जा उपलब्ध गराएको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख गरिएको छ । कुमारी बैंकले ४ हजार ९२६ जना ऋणीलाई सो ऋण उपलब्ध गराएको हो भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ११ हजार ४०४ जना ऋणीलाई सो कर्जा उपलब्ध गराएको हो ।
त्यसैगरी ग्लोबल आईएमई बैंकले ७ अर्ब ६६ करोड, नेपाल बैंकले ७ अर्ब ४८ करोड, प्राइम कमर्शियल बैंकले ७ अर्ब २ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा उपलब्ध गराएका छन् भने एनएमबि बैंकले ६ अर्ब ९१ करोड, लक्ष्मी सनराइज बैंकले ६ अर्ब १७ करोड सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको छ ।
प्रभु बैंकले ५ अर्ब १२ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा सानिमा बैंकले ५ अर्ब २ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सिद्धार्थ बैंकले यस्तो कर्जा ४ अर्ब ९५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने हिमालयन बैंकले ४ अर्ब ९२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
माथि उल्लेखित क वर्गका वाणिज्य बैंककै हाराहाहारी ‘ख’ वर्गको मुक्तिनाथ विकास बैंकले ब्याज सहुलियतपूर्ण कर्जा अनुदान प्रदान गरेको छ । बैंकले ४ अर्ब ७ करोड रुपैयाँ कर्जा ५ हजार ३२५ ऋणीलाई उपलब्ध गराएको हो ।
‘ख’ वर्गको विकास बैंक ज्योति विकास बैंकले ३ अर्ब १४ करोड, गरिमा विकास बैंकले २ अर्ब ४३ करोड, कामना सेवा विकास बैंकले २ अर्ब २७ करोड रुपैयाँको सहुलियत कर्जा उपयोग गरेका छन् ।
सिटिजन्स बैंकले ३ अर्ब ६ करोड, एभरेष्ट बैंकले ३ अर्ब १ करोड, नेपाल एसबिआई बैंकले ३ अर्ब ६ करोड माछापुच्छ्रे बैंकले २ अर्ब १५ करोड कर्जा उपयोग गरेको छ । स्टयाण्डर्ड चार्टर्ड बैंकले १ अर्ब ७ करोड सहुलियत ब्याजदर कर्जा उपयोग गर्दा अन्य बैंकले भने अर्बभन्दा कम कर्जा उपयोग गरेका छन् ।