काठमाडौं । महिला सशक्तिकरणप्रतिको प्रतिबद्वतालाई निरन्तरता दिदैं लक्ष्मी सनराइज बैंकले ‘शिक्षित लक्ष्मी’ पहलको थालनी गरेको छ । बैंकले सो पहलअन्तर्गत विगतका वर्षहरूमा नारी शिक्षाको उद्देश्यलाई सक्रिय रूपमा समर्थन गर्न बैंकले गरेका विभिन्न गतिविधि र कार्यक्रमहरूलाई एउटै छाताभित्र ल्याएको हो ।
यस पहलले नारी शिक्षालाई प्रोत्साहन गरी उनीहरुलाई राष्ट्र निर्माणमा योगदान पुर्याउन सक्षम बनाउँदै समावेशी र समतामूलक समाज निर्माण गर्ने उद्देश्य राखेको छ । यस पहल अन्तर्गत ७ वर्षमा कूल ३५ लाख रकम प्रदान गर्ने गरी बैंकले हालै समता एजुकेशन ट्रस्टसँग समझदारी गरेको छ ।
सो रकमले देशभरीका समता स्कूलमा अध्ययनरत सामाजिक र आर्थिक रूपमा विपन्न छात्राहरुले वार्षिक रूपमा छात्रवृत्ति प्राप्त गर्नेछन् । यसैगरी बैंकले आगामी ५ वर्ष सम्ममा १ करोडको छात्रवृत्ति कोष स्थापना गर्न काठमाडौं विश्वविद्यालयसँग सम्झौता गरेको छ ।
सो कोष मार्फत सोही विश्वविद्यालयबाट (विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित) विषयहरुमा स्नातकोत्तर वा विद्यावारिधि गर्न चाहने योग्य तथा आर्थिक रूपमा विपन्न महिलाहरुले छात्रवृत्ति प्राप्त गर्नेछन् ।
सो कार्यक्रम अन्तर्गत छात्रवृत्ति प्राप्त गर्ने महिलाहरुको संख्या वर्षेनी बढाउदै लगिने छ । यस छात्रवृत्ति मार्फत २०२४ ब्याचका इरादा सुवेदी (एम.इ. स्ट्रकचरल इन्जिनियरिङ र सुनेना न्याछ्यों (एम.एससी) इ एस) हाल अध्ययनरत छन् ।
यस अघि पनि बैंकले नेपाल प्रहरीसँगको सहकार्यमा नेपालभरीका प्रहरी विद्यालयहरुमा अध्ययनरत योग्य छात्राहरुलाई यस्तै प्रकारको अक्षय कोष स्थापना गरी छात्रवृत्ति प्रदान गर्दै आएको छ । यस बाहेक बैंकले छात्राहरुलाई अन्य क्षेत्रहरुमा सहयोग गर्नुका साथै महिला उत्थानका लागि विभिन्न अभियानहरु संचालन गर्दै आएको छ ।
यी प्रयासहरूले लक्ष्मी सनराइज बैंकको ‘शिक्षित लक्ष्मी’ मार्फत शिक्षाको प्रवर्द्धन र महिला सशक्तिकरण प्रतिको प्रतिबद्धतालाई झल्काउँछ। लैंगिक समानतालाई आत्मसाथ गर्दै विभिन्न क्षेत्रहरूमा महिलाहरूको उत्थानमा टेवा पुर्याउने सो पहल बैंकको संस्थागत सामाजिक उत्तरदायित्वको एक मुख्य अंग हो ।