१ खर्ब ६३ अर्ब नाघ्यो बैंकहको निस्क्रिय कर्जा, कसको कति ?

काठमाडौं । पछिल्लो महिनामा बैंकहरूको निस्क्रिय कर्जा (एनपीएल) बढ्दै गएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकहको निस्किय कर्जा बढेर १ खर्ब ६३ अर्ब ७४ करोड रुपैयाँ पुगेको हो ।

देशमा सञ्चालित २० ओटा वाणिज्य बैंकहरूले चालु आवको समीक्षा अवधिसम्म ४४ खर्ब ८६ अर्ब ६१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बैंकहरूले गरेको कर्जा प्रवाहको ३.६५ प्रतिशत भनेको १ खर्ब ६३ अर्ब ७४ करोड रुपैयाँ हुन आउँछ ।
गत आवको सोही अवधिमा बैंकहरूको यस्तो निस्क्रिय कर्जा ३.०३ प्रतिशत अर्थात १ खर्ब २६ अर्ब ६१ करोड रुपैयाँ मात्रै थियो । यो अवधिमा बैंकहरूको ३७ अर्ब १३ करोड रुपैयाँले अर्थात ०.२५ प्रतिशतले निस्क्रिय कर्जा बढेको छ ।

दोस्रो त्रैमासबाट तेस्रो त्रैमासमा आइपुग्दा निस्क्रिय कर्जा ८.१३ प्रतिशतले वृद्धि भएको छ भने बैंकहरूको कर्जा प्रवाह ९.७१ प्रतिशतले बढेको छ । यसरी हर्दा खराब कर्जा बढेको अुनपात र कर्जा प्रवाहको अनुपात करिब साढे १ प्रतिशतले मात्रै फरक देखिन्छ ।

चालु आवको दोस्रो त्रैमाससम्म बैंकहरूको निस्क्रिय कर्जा १ खर्ब ५१ अर्ब थियो । तेस्रो त्रैमासमा आईपुग्दा निस्क्रिय कर्जा १० अर्ब रुपैयाँले बढेको छ ।

मुख्यतया बैंकका ऋणीहरूले समयमा साँवा तथा ब्याज नतिर्दा बैंकको निष्क्रिय कर्जा (एनपीएल)को आकार बढ्दै गएको छ । एनपीएल बढ्नु भनेको कर्जा नोक्सानी प्रोभिजन बढ्नु, एसेस्टको गुणस्तर कम हुनु र नाफा घट्नु हो । यस्तो कर्जा बढेसँगै बैंकले यस बापत केन्द्रीय बैंकले तोकेअनुसारको रकम लोन लस प्रोभिजनमा छुट्ट्याएर राख्नुपर्छ । यसबाट नाफा घट्नु भनेको लाभांश बाँड्ने क्षमतामा ह्रास आउनु हो ।

अहिले अधिकांश बैंकको यस्तै अवस्था छ । राष्ट्र बैंकले तोकेअनुसार लोन लस प्रोभिजनमा कुल कर्जाको निश्चित प्रतिशत छुट्ट्याएर राख्नु पर्छ । भाखा ननाघेको कर्जालाई १.३ प्रतिशत, ३ महिनासम्म भाका नाघेका कर्जालाई २५ प्रतिशत, ६ महिनासम्म भाका नाघेकालाई र ६ महिनाभन्दा बढी भाका नाघेकालाई शतप्रतिशत प्रोभिजनमा छुट्ट्याउनु पर्छ ।

कुल कर्जामध्ये तोकिएको उक्त प्रतिशतलाई खर्च लेखेर नाफाबाटै घटाएर राख्ने गरिन्छ । यसो हुँदा वितरणयोग्य नाफाबाट लाभांशबापत बाँड्न पाइँदैन । बैंकहरूको एनपीएल बढ्दा चालु आवको तेस्रो त्रैमाससम्म १० वटा बैंकको वितरणयोग्य नाफा ऋणात्मक रहेको छ ।

बाँकी १० बैंकले पनि राष्ट्र बैंकबाट निर्देशित पुँजी पुर्याए मात्रै लाभांश बाड्न सक्छन् । बैंकहरूको निस्क्रिय कर्जा बढ्दा लोन लसका लागि छ्ट्याउने रकम पनि बढेर ३९ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । बैंकहरूले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३९ अर्ब ८७ करोड ६३ लाख रुपैयाँ इम्पेरिमेन्ट चार्ज वापत छुट्याएका छन् ।

तर, एनपीएलबापत रकम जहिल्यै उठ्छ त्यसपछिमात्रै वितरणयोग्य नाफामा जोडिन्छ र लगानीकर्ताले राम्रो बोनस हात पार्ने सम्भावना हुन्छ ।

यस्तो छ बैंकहरूको निस्क्रिय कर्जा अनुपात
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म एक बैंकको एनपीएल १ प्रतिशतभन्दा कम, दुई बैंकको एनपीएल १ देखि २ प्रतिशतकोबीचमा र अन्य बैंकको एनपीएल २ देखि ५.५९ प्रतिशतसम्म रहेको छ । १० वटा बैंकको एनपीएल ४ देखि ५ प्रतिशतको बीचमा रहेको छ भने लक्ष्मी बैंकको एनपीएल ५.४९ प्रतिशत रहेको छ ।

एभरेष्ट बैंकको एनपीएल सबैभन्दा कम ०.७० प्रतिशत रहेको छ भने एनपीएल कम हुने बैंकको दोस्रो नम्बरमा सानिमा बैंक परेको छ । सानिमा बैंकको एनपीएल १.८९ प्रतिशत रहेको छ भने नेपाल एसबिआई बैंकको एनपीएल १.८९ प्रतिशत रहेको छ ।

त्यसैगरी स्ट्याण्र्डड चार्टर्ड बैंकको एनपीएल २.१४ प्रतिशत, सिद्धार्थ बैंकको एनपीएल २.५२ प्रतिशत, एनएमबि बैंकको एनपीएल २.८६ प्रतिशत पुगेको छ ।

एनआईसी एशिया बैंकको एनपीएल ३.०८ प्रतिशत, कृषि विकास बैंकको ३.३० प्रतिशत, माछापुच्छ्रे बैंकको ३.६८ प्रतिशत, सिटिजन्स बैंकको एनपीएल ३.७६ प्रतिशत पुगेको छ ।

नबिल बैंकको एनपीएल ४.०४ प्रतिशत, प्राइम बैंकको ४.२९ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको एनपीएल ४.३० प्रतिशत, नेपाल इन्भेष्मेन्ट मेगा बैंको ४.६६ प्रतिशत, ग्लोबल आईएमई बैंकको ४.७४ प्रतिशत, प्रभु बैंकको ४.८१ प्रतिशत, नेपाल बैंकको एनपीएल ४.८५ प्रतिशत, कुमारी बैंकको एनपीएल ४.९५ प्रतिशत र हिमालयन बैंकको एनपीएल ४.९६ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स