काठमाडौं । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५२.३१ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४ अर्ब १ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकको खुद ब्याज आम्दानी घटेको र खराब कर्जा बढेका कारण बैंकको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ९.९५ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी १३.५० प्रतिशत घटेको छ ।
बैंकको कुल सञ्चालन आम्दानी ९.१७ प्रतिशत र सञ्चालन मुनाफा ३७.३१ प्रतिशत घटेको छ। सो अवधिमा बैंकको निष्क्रिय कर्जा ०.८५ प्रतिशतबाट ३.०८ प्रतिशत पुगेको छ ।
चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७२ करोड ५६ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर वितरणयोग्य मुनाफा १५ रुपैयाँ ४२ पैसा ऋणात्मक रहेको छ ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २९ रुपैयाँ १८ पैसा घटेर १७ रुपैयाँ १२ पैसामा झरेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २२.८५ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २०५ रुपैयाँ ४७ पैसा रहेको छ ।
गत वर्षको मुनाफाबाट २९ प्रतिशत बोनस सेयर वितरण गरी चुक्ता पुँजी १४ अर्ब ९१ करोड रुपैयाँ पुर्याएको यस बैंकको जगेडा कोषमा १५ अर्ब ७३ करोड रुपैयाँ सञ्चित छ । चैत मसान्तसम्ममा बैंकले ३ खर्ब २७ अर्ब १६ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७७ अर्ब १८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।