काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ अर्ब २६ करोड १८ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.६० प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ८६ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो।
चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकको खुद ब्याज आम्दानी १२.६७ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ६०.९० प्रतिशत बढेको छ । बैंकको कुल सञ्चालन आम्दानी १९.१४ प्रतिशत बढेको छ ।
सञ्चालन मुनाफा बढेपनि बैंकको खुद नाफा भने समीक्षा अवधिमा घटेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १ अर्ब ३० करोड रुपैयाँ खुद नाफा कमाएको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ अर्ब ५ करोड मात्र नाफा कमाएको छ । बैंकको कर खर्च बढेका कारण खुद नाफा घट्न पुगेको हो।
चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने ४ अर्ब २० करोड ५२ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर वितरणयोग्य मुनाफा २१ रुपैयाँ ३८ पैसा ऋणात्मक रहेको छ ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपेयाँ ९० पैसा घटेर ५ रुपैयाँ ३५ पैसामा सीमित भएको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २५.७३ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ५२ पैसा रहेको छ ।
२६ अर्ब २२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ९ अर्ब ६२ करोड रुपैयाँ सञ्चित छ । चैत मसान्तसम्ममा बैंकले ३ खर्ब १८ अर्ब ८६ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७४ अर्ब ५३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।