ज्योति विकास बैंकको नाफा २४.४० प्रतिशतले घट्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। चालु आवको पहिलो ९ महिनासम्ममा बैंकको खुद नाफा २४.४० प्रतिशतले घटेको छ ।

समिक्षा अवधिमा बैंकले १५ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २० करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.४० प्रतिशत कम हो।

बैंकको ब्याज आम्दानी सामान्य बढेपनि इम्पेरमेन्ट चार्ज बढेका कारण खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १.७५ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी १.५४ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा ३.८९ प्रतिशतबाट बढेर ४.९७ प्रतिशत पुगेको छ। फलस्वरुप बैंकको इम्पेरमेन्ट चार्ज ७१ करोडबाट बढेर ८३ करोड पुगेको छ। जसका कारण बैंकको सञ्चालन मुनाफा र खुद नाफा घट्न पुगेको हो।

सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २८ करोड ६६ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर वितरणयोग्य आम्दानी ८ रुपैयाँ ६९ पैसा ऋणात्मक रहेको छ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १.५९ रुपैयाँले घटेर ४.६२ रुपैयाँमा झरेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ६३.५९ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३४.२० रुपैयाँ रहेको छ।

बैंकको चुक्ता पुँजी ४ अर्ब ३९ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ५० करोड रुपैयाँ सञ्चित छ।। चैत मसान्तसम्ममा बैंकले ६३ अर्ब ४२ करोड निक्षेप संकलन गरी ५० अर्ब ७३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स