एनआईसी एशिया बैंकको नाफा करिब सवा अर्ब, नाफा बढेपनि प्रतिसेयर आम्दानी घट्यो

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ अर्ब १८ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गरेको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.६४ प्रतिशत बढी हो ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकले हाल सञ्चालनमा रहेका वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै नाफा कमाउन सफल भएको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४०.४२ प्रतिशत बढेको छ ।

सञ्चालन मुनाफा १४.९३ प्रतिशत बढेको छ । बैंकको नेट फि तथा कमिशन आम्दानी भने समीक्षा अवधिमा १४.२२ प्रतिशत बढेको छ । असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २२ करोड ४५ लाख रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको तीन महिनामा बैंकको जगेडा कोष ११.३१ प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप ३.०५ प्रतिशत घटेको छ भने कर्जा ६.२६ प्रतिशत बढेको छ ।

नाफा बढेपनि बैंकको प्रतिसेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ४२ रुपैयाँ १४ पैसाबाट १ रुपैयाँ ३० पैसा घटेर ४० रुपैयाँ ८४ पैसामा झरेको छ । असोज मसान्तसम्ममा, बैंकको मूल्य आम्दानी अनुपात २०.७८ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८९ रुपैयाँ ९० पैसा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स