प्रहरीले सुप्रिम सहकारीको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझायो

काठमाडौं । इलाका प्रहरी कार्यालय बुटवलकाले सुप्रिम सहकारीको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ । प्रहरीले सुप्रिम सहकारीका व्यवस्थापक देखि सञ्चालक गरी २८ जनालाई प्रतिवादी बनाएर शुक्रबार अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय बुटवलमा बुझाएको हो।

सुप्रिम सहकारीका बचतकर्ताको १ अर्ब भन्दा बढी रकम हिनामिना गरेको अभियोगमा पक्राउ परेका ५ जना सहित २८ जनालाई प्रतिवादी बनाएर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) विजयराज पण्डितले जानकारी दिए ।

प्रहरीले गएको जेठ ४ गते सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई पक्राउ गरेको थियो। तत्कालीन सचिव दिपेश पुनलाई काठमाडौंबाट पक्राउ गरी बुटवल पुर्याइएको पनि प्रहरीले जनाएको छ । सहकारीका तत्कालीन कोषाध्यक्ष कुमार रम्तेल र आइटी प्रमुख भविश्वर अर्याल लगायतलाई बुटवल ल्याएर अनुसन्धान गरेको थियो।

सहकारीका ठगीका मुख्य नाइके जिबी राईलाई भने अहिले सम्म प्रहरीले नियन्त्रणमा लिन सकेको छैन। मलेसियामा लुकेर बसेको भनिएका उनलाई पक्राउ गर्न प्रहरीले इन्टरपोलमार्फत डिफ्युजन नोटिस समेत जारी गरेको छ ।

लुम्बिनी प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालयले सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना सम्बन्धी प्रारम्भिक प्रतिवेदन बुझाएपछि रुपन्देही प्रहरीले अध्यक्ष गुरुङ र भैरहवा शाखामा कार्यरत एक कर्मचारीलाई नियन्त्रणमा लिएको थियो।

२०७२ साल चैत ८ गते सहकारी डिभिजन कार्यालयमा सहकारी ऐन विपरित दर्ता भएको उक्त सहकारीमा बेलखु १ ओखलढुंगाका गितेन्द्रबाबु (जिबी) राई अध्यक्ष राखेर दर्ता गरिएको थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स