घट्दो क्रममा ब्याजदर, १ वर्षमा २.२५ प्रतिशतले ओर्लियो कर्जाको औसत ब्याजदर

काठमाडौं । एक वर्षमा २.२५ प्रतिशतले कर्जाको औसत ब्याजदर घटेको छ । गत आवको फागुन महिनामा १३.०३ प्रतिशत रहेको कर्जाको औसत ब्याजदर चालु आवको फागुनमसान्तसम्म घटेर १०.७८ प्रतिशतमा ओर्लिएको हो । असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको यस्तो ब्याजदर १२.३० प्रतिशत थियो । चालु आवको दोस्रो चौमाससम्म कर्जाको ब्याजदर औसतमा १ं२५ प्रतिशतले ओलिएको छ । कर्जाको ब्याज दर घट्दै जाने नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बताउँदै आएका छन् । उनले भने जस्तै पछिल्लो समय निक्षेप तथा कर्जा दुबैको ब्याजदर घट्दै गएको छ ।

बैशाख महिना पनि बैंकहरू निक्षेपको ब्याजदर घटाएर प्रकाशित गरेका छन् । निक्षेपको ब्याजदर घट्दा यसको असर कर्जाको ब्याजदरमा पनि पर्छ र सोही कारणले कर्जाको ब्याजदर पनि घट्ने भएको अध्यक्ष केसीले बताए । २० वटा वाणिज्य बैंकमध्ये १३ वटाले ब्याजदर घटाएका छन्, दुई बैंकले बढाएका छन् भने ५ वटा बैंककको ब्याजदर स्थिर राखेका छन् ।

पछिल्लो समय बैंकमा लगानी योग्य पैसा थुप्रिएपछि बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदर घटाउन थालेका छन् । अहिले बैंकहसँग ५ खर्बभन्दा बढी लगानीयोग्य पुँजी छ । त्यसकारणले पनि गत आवको तुलनामा ब्याजदर घट्दै गएको हो । कोरोना कालमा घटेको ब्याजदर बजार चलायमान हुन थालेपछि साथ कर्जाको ब्याजदर बढेर १५÷१६ प्रतिशतसम्म पुगेको थियो । बजारमा तरलताको चरम अभाव थियो । बैंकहरूबीच निक्षेप खोसाखोस जस्तो अवस्था थियो ।

गत आवपछि विस्तारै अर्थतन्त्रमा मन्दी देखिन थाल्यो । उत्पादित बस्तुहरू बिक्री हुन सकेन । त्यसले गर्दा उत्पादन क्षमतालाई खुम्चाउनु पर्ने अवस्था आयो । उद्योगको क्षमता खुम्चदा धेरैको रोजगारी गुम्यो । आय आर्जनको बाटो भएन । मुहान नै सुक्यो । बजारमा सटरहरू बन्द भएका छन् । बैंकहरूमा पैसा थुप्रिए पनि आम नागरिकलाई बिहान बेलुकाको छाक टार्न पनि धौ धौ भएको अवस्था छ ।

लगानीकर्ताहरू लगानी गर्न त्यति धेरे उत्साहित छैनन् । उनीहरूले हरेक पटक लगानीमैत्री वातावरण बनाइ दिन सरकारसमक्ष आग्रह गर्दै आएका छन् । लगानी गर्ने वातावरण बनिसकेको अवस्था छैन । उद्यमी व्यवसायी ब्याजदर घटेपनि कर्जा लिन चाहेका छैनन् । कतिपय उद्योगी व्यवसायीहरूले पुरानो लोननै चुक्ता गर्न नसकेको अवस्था हो ।

त्यसैले बैंकहरू पनि कर्जा प्रवाहमा भन्दा लोन रिकभरीमा बढी खटिएको देखिन्छ । बैंकका प्रमुख कार्यकारी अधिकृतहरूदेखि विभागीय प्रमुखको कामनै कर्जाको लिष्ट लिएर ऋणीलाइ जतिसक्दो चाँडा कर्जा र यसको ब्याज तिर्न ताकेता गरिएको छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको ब्याजदरसम्बन्धी निर्देशनअनुसार बैंक, वित्तीय संस्थाबाट प्रवाह हुने सबै आवधिक कर्जाको परिवर्तनीय र स्थिर ब्याजदर दुवै प्रकाशन गर्नुपर्छ । परिवर्तनीय ब्याजदर हरेक त्रैमासिकको औसत आधारदरको आधारमा तलमाथि भए पनि स्थिर ब्याजदर योजनामा भने कर्जा अवधिभर ब्याज घटबढ गर्न पाइँदैन । यस योजनामा पनि ऋणीसँगको लिखित सहमतिमा पहिलोपटक ७ वर्षमा र त्यसपछि प्रत्येक ५ वर्षमा ब्याजदर पुनरवलोकन गर्न सकिने प्रावधान छ ।

बैंकले बेसरेटलाई आधार बनाएर कर्जाको प्रकारअनुसार त्यसमा केही प्रतिशत प्रिमियम थप गरी कर्जा लगानी गर्छन् । कर्जा लिन इच्छुकले बैंकको कर्जाको प्रडक्टअनुसार ब्याजदर हेर्नुभन्दा पहिला कर्जा लिन ब्याजदर कति छ भनेर बुझ्नुपर्छ ।

बैंकहरूले मासिक वा त्रैमासिक बेसरेट परिवर्तन गरिरहेका हुन्छन् । बेसरेट परिवर्तनसँगै कर्जाको ब्याजदरमा परिवर्तन आउने हुन्छ । कर्जा लिने व्यक्तिले कुनै एक बैंकबाट कर्जा लिनुअगाडि सञ्चालनमा रहेका सबै बैंकको बेसरेट कति छ र ती बैंकको बेसरेट कहिले परिवर्तन हुन्छ भनेर निक्र्याेल गर्न अतिआवश्यक हुन्छ ।

महिनामा १७ वटा वाणिज्य बैंकको बेसरेट १० प्रतिशतभन्दा तल रहेको छ भने बाँकी ३ बैंकको बेसरेट सोभन्दा माथि रहेको छ । १० प्रतिशतभन्दा बढी बेसरेट हुने बैंकहरूमा कुमारी बैंक, प्राइम कमर्सियल बैंक र हिमालयन बैंक रहेका छन् । यी तीन बैंकको बेसरेट क्रमशः १०.०१ प्रतिशत, १०.०५ प्रतिशत र १०.१० प्रतिशत रहेको छ ।

फागुनमसान्तसम्म सबैभन्दा कम बेसरेट स्टुयाण्डर्ड चार्टर्ड बैंकको रहेको छ । बैंक बेसरेट ७.५२ प्रतिशतमात्रै हुँदा उक्त बैंकबाट कर्जा लिने ऋणीले सस्तो ब्याजमा कर्जा पाउँ।

कम बेसरेट हुने दोस्रो बैंक राष्ट्रिय वाणिज्य बैंक बनेको छ । फागुन महिनामा बैंकको बेसरेट ७.६२ प्रतिशत रहेको छ भने नेपाल बैंकको ८.०५ प्रतिशत बेसरेट रहेको छ ।

त्यसैगरी एभरेष्ट बैंकको बेसरट ८.५२ प्रतिशत, नबिल बैंकको ८.६१ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८.८१ प्रतिशत, सानिमा बैंको ८.९७ प्रतिशत, सिद्धार्थ बैंकको ८.९८ प्रतिशत बसेरेट रहेको छ ।

फागुन महिनामा प्रभु बैंकको बेसरेट ९.०६ प्रतिशत, ग्लोबल आईएमई बैंकको ९.०९ प्रतिशत, नेपाल एसबीआई बैंकका ९.११ प्रतिशत, एनआईसी एशिया बैंको ९.१३ प्रतिशत, माछापुच्छरे् बैंकको ९.२६ प्रतिशत, कृषि विकास बैंकको ९.३६ प्रतिशत, एनएमबि ९.४१ प्रतिशत सिटिजन्स बैंकको ९.५८ प्रतिशत र लक्ष्मी सनराइज बैंकको ९.६४ प्रतिशत बेसरेट रहेको छ ।

चैत महिनाको बेसरेट भने बैंकहरूले प्रकाशित गरिसकेका छैनन । यो महिना चालु आवको तेस्रो त्रैमासको अन्तिम महिना भएकोले रिपोर्ट आउने क्रममा रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स