काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूको धितो सकारेको सम्पत्ति (गैर बैकिङ सम्पत्ति) ७२.१८ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा अनुपात बढेरसँगै यस्तो सम्पत्ति पनि बढेर २३ अर्ब ९६ करोड ७० रुपैयाँ पुगेको हो ।
हाल बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा अनुपात ३.६३ प्रतिशत पुगेको छ । खराब कर्जा बढेसँगै बैंक तथा वित्तीय संस्थाहरूको गैर बैंकिङ सम्पत्ति उच्च दरमा बढेको हो । राष्ट्र बैंकको तथ्यांक अनुसार २०७९ फागनु महिनासम्म बैंक तथा वित्तीय संस्थाको गैर बैंकिङ १३ अर्ब ९१ करोड थियो ।
बैंक तथा वित्तीय संस्थाहरूले नउठेको कर्जाको धितो लिलामी बिक्री नभएमा आफैंले सकार्छन्। यसरी सकारेको सम्पत्ति नै गैर–बैंकिङ सम्पत्ति शीर्षकमा राखिन्छ वा यस्तो सम्पत्ति गैर बैंकिङ हो । बैंकले ऋण नउठेका कारण धितो सकारेपछि यस्तो सम्पत्ति सकेसम्म चाँडै बिक्री गर्नुपर्ने नियम छ ।
कर्जा रिकभरी गर्न बैंकले भएभरको इफोट लगाए पनि सोचेजस्तो प्रगति हुन सकेको छैन । अहिले बैंकबाट कर्जा लिएका ऋणीले कर्जाको ब्याज र किस्ता नतिर्दा बैंक तथा वित्तीय संस्था झन् अप्ठ्यारोमा परेका छन् ।
घरजग्गा धितो राखेर ऋण दिएका बैंक तथा वित्तीय संस्थाहरूलाई अहिले त्यही सम्पत्ति बोझ बन्न थालेको छ । पछिल्लो असुल नभएका ऋणीको धितो पनि लिलाम गर्न नसकेपछि बैंक तथा वित्तीय संस्थाहरूमा गैरबैंकिङ सम्पत्ति थुप्रिन थालेको हो ।
चालू आर्थिक वर्षमा ‘क’ वर्गका बैंक तथा वित्तिय संस्थाको गैर बैकिङ सम्पत्ति २० अर्ब ११ करोड रहेको छ । अघिल्लो आर्थिक वर्षमा गैर बैकिङ सम्पत्ति ११ अर्ब ४१ करोड रहेको थियो ।
चालु आवमा ‘ख’ वर्गका बैंक तथा वित्तिय संस्थाको गैर बैकिङ सम्पत्ति २ अर्ब ५४ करोड रहेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो १ अर्ब ६८ लाख रहेको थियो ।
त्यस्तै, चालु आवमा ‘ग’ वर्गका बैंक तथा वित्तिय संस्थाको गैर बैकिङ सम्पत्ति १० करोड ६० लाख रहेको छ । अघिल्लो आवमा यस वर्गका बैंक तथा वित्तिय संस्थाको गैर बैकिङ सम्पत्ति ८१ करोड ९० लाख रहेको थियो ।
चालू आवमा नेपाल बैंकको गैर सम्पत्ति १८ करोड २० लाख रहेको छ । राष्ट्रिय वाणिज्य बैंकको १८ करोड ६० लाख, नबिल बैंकको १ अर्ब ४७ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १ अर्ब ९६ करोड रहेको छ ।
हिमालयन बैंकको ८४ करोड ४० लाख, नेपाल एसबीआई बैंकको ७ करोड ६० लाख, एभरेष्ट बैंकको १५ करोड ५० लाख, एनआईसी एसिया बैंकको ३ अर्ब २४ करोड, माछापुच्छ्रे बैंकको १ अर्ब ४४ करोड, कुमारी बैंकको १ अर्ब ८६ करोड रहेको छ ।
त्यस्तै, लक्ष्मी सनराइज बैंकको १ अर्ब ३६ करोड, सिद्वार्थ बैंकको ६४ करोड ४० लाख, कुषि विकास बैंकको २५ करोड २० लाख, ग्लोबल आईएमई बैंकको २ अर्ब ३९ करोड, सिटिजन्स बैंकको ३० करोड, प्राइम बैंकको २ अर्ब ८ करोड, एनएमबी बैंकको ७९ करोड १० लाख, प्रभु बैंकको ५७ करोड ३० लाख र सानिमा बैंकको २६ करोड ८० लाख रहेको छ ।