काठमाडौं । नेपालमा भित्रने रेमिट्यान्स २१ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा रेमिट्यान्स ८ महिनामा २१ प्रतिशतले बढेको हो ।
राष्ट्र बैंकका अनुसार चालु आवको ८ महिना अर्था फागुन मसान्तसम्म ९ खर्ब ६१ अर्ब २२ करोड रेमिट्यान्स नेपाल भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २५.३ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १८.८ प्रतिशतले वृद्धि भई ७ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ८६ हजार ९३२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ८४ हजार २७८ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख ५१ हजार ७६१ र १ लाख ९२ हजार ५५९ रहेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर १८.९ प्रतिशतले वृद्धि भई १०४१ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २३.९ प्रतिशतले बढेको थियो ।