एनआईसी बैंक ‘ग्लोबल मनी विक २०२४’ सम्पन्न

काठमाडौं । एनआईसी एशिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ देशभरका हजारौं विद्यार्थीहरूमाझ सप्ताहव्यापी विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।

नेपाल राष्ट्र बैंकको राष्ट्रिय संयोजनमा भएको यस वर्षको ‘ग्लोबल मनी विक २०२४’ का अवसरमा यस बैंकका सातै प्रदेशका सयभन्दा बढी शाखाहरुले विद्यार्थी तथा युवाहरुलाई वित्तीय साक्षरता अभिवृद्धि अभियानमा सहभागी गराउँदै वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गरेका छन् ।

बैंकका अनुसार यस अभियानबाट मुलुकभरका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु लाभान्वित भएका छन् । ३० भन्दा धेरै शाखाहरुले विभिन्न विद्यालयका २५० भन्दा धेरै विद्यार्थीहरुलाई आफ्नो शाखा भ्रमण समेत गराउँदै बैंकिङ प्रणालीका बारेमा जानकारी गराएका थिए ।

तुलनात्मक रुपमा वित्तीय साक्षरता कम भएका मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता जिल्लाका बैंक शाखाहरुले पनि यस अभियान अन्तर्गत विद्यार्थीहरुलाई शाखा भ्रमण गराउने लगायतका वित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम सञ्चालन गरेका थिए । यस बैंकले राष्ट्र बैंकको यस अभियान अन्तर्गत वित्तीय साक्षरता अभिवृद्धि गर्ने खालका सामग्री समेत निर्माण गरी प्रकाशन गरेको थियो।

नेपाल राष्ट्र बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई दिएको निर्देशन यस बैंकले आयोजना गरेको विविध कार्यक्रम तथा अन्य सामग्रीहरुबाट बालबालिका तथा विद्यार्थीहरुमाझ वित्तीय साक्षरता, जनचेतना, वित्तीय ज्ञान, सीप वृद्धिमा सहयोग पुगेको बैंकले विश्वास लिएको छ ।

बालबालिका र युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान विकास गर्ने उद्देश्यका साथ अर्गनाइजेसन अफ इकोनोमीक कोअपरेसन एन्ड डेभलपमेन्ट (ओईसीडी) को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष ‘ग्लोबल मनी विक विश्वभर मनाउँदै आइएको छ ।

नेपालमा पनि २०८० चैत ५ गतेदेखि ११ गतेसम्म ‘प्रोटेक्ट योर मनी, सेक्युर योर फ्युचर’ भन्ने नाराका साथ ग्लोबल मनी विकको १२ औं शृङ्खला मनाइएको हो। यस विश्वव्यापी वित्तीय चेतनामूलक अभियान हालसम्म १७६ मुलुकका ६ करोडभन्दा बढी बालबालिका र युवामाझ पुगिसकेको छ। बैंकले पनि विगतका वर्षहरुमा समेत यसै सन्दर्भमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइएको छ ।

एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११६ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स