सिद्धार्थ बैंकको नाफामा छलाङ, प्रतिसेयर आम्दानी पनि बढ्यो

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफामा छलाङ मारेको छ । बैंकले ९४ करोड ८७ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८९.५० प्रतिशत बढी हो ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५० करोड ६ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २९ करोड ७८ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको वितरयोग्य मुनाफा ४८ करोड ६२ लाख ऋणात्मक रहेको थियो ।

खुद ब्याज आम्दानी बढ्दा पनि इम्पेरमेन्ट चार्ज घट्दा बैंकको खुद नाफा बढेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३०.२५ प्रतिशत बढेको छ । सञ्चालन मुनाफा ८७.२७ प्रतिशत बढेको छ । बैंकको नेट फि तथा कमिशन आम्दानी भने समीक्षा अवधिमा ६५.८१ प्रतिशत बढेको छ ।

चालु आर्थिक वर्षको तीन महिनामा बैंकको जगेडा कोष ३.८५ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको निक्षेप १.४४ प्रतिशत बढेको छ भने कर्जा ९.२३ प्रतिशत बढेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ ५ पैसाबाट १४ रुपैयाँ ५५ पैसा बढेर ३४ रुपैयाँ ६६ पैसा पुगेको छ। असोज मसान्तसम्ममा, बैंकको मूल्य आम्दानी अनुपात १३.६६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८८ रुपैयाँ १३ पैसा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स