काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको वित्तीय क्षेत्रको समग्र अवस्था सन्तोषजनक रहेको बताएका छन् । नेपाल भ्रमणमा रहेको एसियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट बैंक (एआईआईबी) को टोलीसँगको भेटवार्तामा गभर्नर अधिकारीले सो कुरा बताएका हुन् ।
भेटका अवसरमा गभर्नर अधिकारीले नेपालको कुल गार्हस्थ्य उत्पादन, मुद्रास्फीति, विदेशी विनिमय सञ्चिति, बाह्य क्षेत्रलगायत मुलुकको वर्तमान आर्थिक स्थितिबारे चर्चा गरे । नेपाल राष्ट्र बैंकको प्रभावकारी नियमन र सुपरिवेक्षणका कारण नेपालको वित्तीय क्षेत्रको समग्र अवस्था सन्तोषजनक रहेको धारणा उनले राखे ।
साथै, नेपालमा वैदेशिक लगानीको निम्ति वातावरण सहज रहेको उल्लेख गर्दै गभर्नर अधिकारीले लगानी स्वीकृति प्रक्रिया र संस्थागत व्यवस्थाबारे भ्रमण टोलीलाई जानकारी गराए । नेपालको पूर्वाधार विकासको लागि आन्तरिक स्रोत अपुग रहेको उल्लेख गर्दै उनले एआईआईबी जस्ता संस्थाले जलविद्युत्, प्रसारण लाइन लगायतका पूर्वाधार क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकतामा जोड दिए ।
भेटका अवसरमा एआईआईबीको टोली प्रमुख रथनायकेसहित अन्य सदस्यहरूले नेपालमा वैदेशिक लगानीको लागि नीतिगत व्यवस्था, एआईआईबीले लगानी गर्नसक्ने पूर्वाधार क्षेत्र, ऋण स्वीकृति प्रक्रिया र ऋणको ब्याजदर लगायतका विषयमा चासो राखे । साथै, उनीहरूले नेपालमा जलवायु परिवर्तनका कारण सिर्जित चुनौतीलाई सम्बोधन गर्नका निम्ति भएका नीतिगत प्रयासबारे जिज्ञासा राखे ।
कार्यक्रममा नेपालको विकासका प्राथमिकता, पूर्वाधार विकासमा लगानीका अवसर लगायतका विभिन्न विषयमा दुईपक्षीय छलफल भएको थियो ।भेटवार्तामा नेपाल राष्ट्र बैंकको तर्फबाट कार्यकारी निर्देशकहरू डा.नेफिल मातङ्गि मास्के, डा. गुणाकर भट्ट, डा. प्रकाशकुमार श्रेष्ठ, गुरुप्रसाद पौडेल लगायतका अधिकारीको उपस्थिति थियो ।
मूलतः एसियाली र अन्य सदस्य मुलुककोदिगो र हरित पूर्वाधार विकासमा लगानी प्रवद्र्धन गर्ने उद्देश्यसहित सन् २०१६ मा एआईआईबीको स्थापना भएको हो । यसको मुख्यालय चीनको बेइजिबमा रहेको छ ।