काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले घुस नदिईकन ऋण पाईदैन, मध्यस्थता नभईकन ऋण पाईदैन भनेर आरोप लाग्ने गरेको बताएका छन् । राष्ट्रिय वाणिज्य बैंकले आज यहाँ आयोजना गरेको ‘आरबिबिएल म्यानेजमेन्ट कन्फ्रेन्स २०२४’ मा गभर्नर अधिकारीले भने, ‘घुस नदिईकन ऋण पाईदैन, मध्यस्थता नभइकन ऋण पाईदैन भनेर आरोप लाग्ने गरेको छ । तर यस्ता आरोप थप सुन्नु नपरोस् ।’ बैंकिङ क्षेत्रका साना कमजोरी र घटनाले पनि बैंकलाई ठूलो समस्या पार्नसक्नेतर्फ उनले सचेत गराए ।
बैंक तथा वित्तीय क्षेत्रबाट भइरहेको लगानी उत्पादनशील क्षेत्रमा र मुलुकको अर्थतन्त्रलाई योगदान गर्ने क्षेत्रमा जानुपर्ने गरी वित्तीय र मौद्रिक नीति अबलम्बन गरिएको बताए । ‘बैंकिङ क्षेत्रले ठूलो स्रोत परिचालन गरिरहेको छ । त्यसको दुरुपयोग हुन दिनु भएन । उत्पादनमूलक क्षेत्रमा लगानी होस् र उत्पादन बढोस् । अनुत्पादक क्षेत्रमा कर्जा नजाओस्’, गभर्नर अधिकारीले भने, ‘राष्ट्रिय स्वार्थमा र उत्पादन वृद्धिमा सहयोग पुग्नेगरी बैंकिङ क्षेत्रले काम गर्नुपर्छ ।’ उत्पादन क्षेत्रमा लगानी बढोस् भनेर नियामकबाट क्षेत्रगत कर्जाको प्रावधान राखिएको गभर्नर अधिकारीले बताए ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थालाई समस्या पर्नेगरी विभिन्न क्षेत्रबाट भइरहेका आक्रमणलाई निस्तेज पार्न बैकिङ क्षेत्रले थप इमानदार र जिम्मेवार भएर काम गर्नुपर्नेमा उनले जोड दिए । बैंकको सबैभन्दा ठूलो सम्पत्ति भनेको उसले ग्राहकबाट पाउने विश्वास भएको गभर्नर अधिकारीले बताए । ‘नागरिकको बचत सुरक्षणको दायित्व हामीले लिएका छौं । हाम्रो इमान्दारी महत्वपूर्ण छ । तपाईहरुले ग्राहकको विश्वास आर्जन गर्नेगरी काम गर्नुहोस् , ’उनले भने ।
दिगो र हरित पूर्वाधारमा लगानी नेपालको प्राथमिकतामा रहेकोमा त्यसलाई बैंक तथा वित्तीय संस्थाले पनि प्राथमिकतामा राखेर कर्जा विस्तार गरिनुपर्ने गभर्नर अधिकारीको भनाइ छ । बैंक तथा वित्तीय संस्थाबाट भइरहेको लगानीले मुलुकको अर्थतन्त्र विस्तारमा ठूलो योगदान गरिरहेको उल्लेख गर्दै उनले आफुले लगानी गर्दा बैंक तथा वित्तीय संस्थाले प्राकृतिक प्रकोप र विपद्का चुनौती बारे सजग हुनुपर्ने बताए । दिगो र हरित पूर्वाधारका क्षेत्रमा लगानी बढाउनुपर्ने धारणा गभर्नर अधिकारीले राखे ।
नेपालको दोस्रो वाणिज्य बैंकका रुपमा स्थापित सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकका तथ्यांक हेर्दा विगतका वर्षमा धेरै आरोह अवरोह भोगेको उल्लेख गदै गभर्नर अधिकारीले अहिले बैंकको वित्तीय स्थास्थ्य निकै मजबुद रहेको र बजारमा प्रतिस्पर्धी बैंकका रुपमा स्थापित भएको बताए ।