प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपानेसहित ११ जना थुनामुक्त

काठमाडौं । प्रभु बैंकका वरिष्ठ डेपुटी सीईओ मनोज न्यौपानेसहित ११ जना थुनामुक्त भएका छन् ।

उनीहरुलाई हरेक दिन सीआईबी उपस्थित हुने गरी हाजिरी जमानतमा छाडिएको सीआईबीका एसपी होविन्द्र बोगटीले बताएका छन् ।

सीआईबीले थुनामा रहेका बैंकरका परिवार र बैंकका प्रतिनिधिको रोहबरमा हाजिरी जमानीमा आजैबाट थुनामुक्त गरेको हो ।

अनुसन्धानको कामहरु लगभग पूरा भइसकेको र बयान समेत सकिएको अवस्थामा उनीहरुलाई कागज गरेर छाडिएको बोगटीले बताए ।

धितोको मूल्यांकनभन्दा अधिक कर्जा प्रवाह गर्ने कार्यमा संलग्न रहेको आरोपमा उनीहरुलाई सीआईबीले पक्राउ गरेको थियो ।

उनीहरुलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीले २८ फागुनमा जिल्ला अदालतबाट अनुमति लिएको थियो ।

तत्कालीन सेञ्चुरी कमर्शियल बैंकबाट कर्जा लिने रबिन्द्र चौलागाई र उनी आवद्ध कम्पनीहरु पूजा ट्रेडिङ एण्ड मार्केटिङ कम्पनी प्रा.लि, थ्री ब्रदर्स मार्केटिङ प्रा.लि, पूजा मार्केटिङ प्रा.लि. र अन्नपूर्ण डिष्टिलरी प्रा।लि। समेतलाई कर्जा प्रवाह गर्दा धितो स्वरुप बैंकमा कर्जा सुरक्षण बापत १ अर्ब १४ करोड २३ लाख ८४ हजार २५८ रुपैयाँ धितोको मूल्यांकन गरिएको ब्यूरोले जनाएको छ । उक्त धितोवापत २ अर्ब ११ करोड ६५ लाख ५५ हजार ७३१ रुपैयाँ कर्जा प्रवाह भएको देखिएको ब्यूरोले जनाएको छ ।

धितोको मूल्यांकनभन्दा अधिक ९७ करोड ४१ लाख ७० हजार ७७२ रुपैयाँ कर्जा प्रवाह भएको प्रहरीले जनाएको छ ।

सीआईबीले १५ माघमा मनोज न्यौपानेसँगै सेञ्चुरी बैंकका पूर्वसीईओ तुल्सीराम गौतम, सबिना श्रेष्ठ, अनुपमा श्रेष्ठ, सुनिल बस्नेत, सन्ध्या श्रेष्ठ, सभाष श्रेष्ठ, दिलिप बराल, दीपेश प्रधान, राजेश भण्डारी र रमण श्रेष्ठलाई पक्राउ गरेको थियो ।

सेन्चुरी प्रभु बैंकमा गाभिएपछि न्यौपाने वरिष्ठ डेपुटी सीईओमा कार्यरत थिए । सेन्चुरीका तत्कालीन सीईओ गौतमले राजीनामा दिएपछि न्यौपानेले नै निमित्त सीईओको जिम्मेवारी पाएका थिए ।

नेपाल राष्ट्र बैंकले लामो समय सीईओ नभए पनि सीईओ नियुक्त गर्न दबाब दिएसँगै बैंक सञ्चालक समितिले न्यौपानेलाई नै सीईओको जिम्मेवारी दिएको थियो । न्यौपाने सहितको टिम प्रभुमै आएका थिए । त्यसमध्ये मनोज, दिलिप, दीपेश, राजेश र रमण बहालवाला कर्मचारी हुन्। बाँकीले अवकाश लिइसकेका छन् ।

सीआईबीले उनीहरूमाथि बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स