काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा बैंक तथा वित्तीय संस्थाले ३८ अर्ब ८० करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । बैंक तथा वित्तीय संस्थाले गत आवको सोही अवधिमा ४४ अर्ब ८४ करोड रुपैयाँ नाफा कमाएका थिए । बैंक तथा वित्तीय संस्थाले चालु आवको सोही अवधिमा कमाएको नाफा गत आवको सोही अवधिको तुलनामा १३.४७ प्रतिशतले कम हो । चालु आवको पुसमसान्तसम्म बैंक तथा वित्तीय संस्थाले ३१ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा कमाएका थिए ।
बैंक तथा वित्तीय संस्थाले गरेको खुद नाफामध्ये ३५ अर्ब ४९ करोड रुपैयाँ वाणिज्य बैंकहरूमात्रै कमाएका हुन् । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूको खुद नाफा ४१ अर्ब २ करोड रुपैयाँ थियो । चालु आवको पुसमसान्तसम्म वाणिज्य बैंकहरूले २८ अर्ब ७३ करोड रुपैयाँ खुद नाफा कमाएका थिए ।
देशमा सञ्चालित २० वटा वाणिज्य बैंकमध्ये चालु आवको यो अवधिमा नबिल बैंकले सबैभन्दा बढी नाफा कमाएको छ । नबिल बैंकले चालु आवको साउनदेखि माघ महिनामासम्मा ३ अर्ब ९८ करोड ६५ लाख रुपैयाँ नाफा कमाएर सबैभन्दा बढी नाफा कमाउने बैंक बनेको छ । चालु आवको यो अवधिमा सबैभन्दा कम नाफा नेपाल एसबिआई बैंकले कमाएको छ । बैंकले साउनदेखि माघ महिनासम्म जम्मा ८५ करोड २४ लाख रुपैयाँमात्रै नाफा कमाएको छ ।
गत आवको तुलनामा चालु आवमा विकास बैंकहरूको पनि नाफा घटेको छ । गत आवको माघमसान्तसम्म ३ अर्ब १९ करोड रुपैयाँ नाफा कमाएका विकास बैंकहरूले चालु आवको माघमसान्तसम्ममा २ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । चालु आवको पुसमसान्तसम्म विकास बैंकहरूले २ अर्ब ४० करोड रुपैयाँ नाफा गरेका थिए ।
चालु आवको माघ मसान्तसम्म फाइनान्स कम्पनीहरूले ४६ करोड २० लाख रुपैयाँ नाफा कमाएका छन् । फाइनान्स कम्पनीहरूले कमाएको नाफा गत आवको सोही अवधिको तुलनामा १६ करोड रुपैयाँले कम हो । गत आवको माघ महिनासम्म वाणिज्य बैंकहरूले ६२ करोड २० रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।
कुन बैंकले कति कमाए नाफा ?
देशमा सञ्चालित २० वटा वाणिज्य बैंकमध्ये चालु आवको यो अवधिमा नबिल बैंकले सबैभन्दा बढी नाफा कमाएको छ । नबिल बैंकले चालु आवको साउनदेखि माघ महिनामासम्मा ३ अर्ब ९८ करोड ६५ लाख रुपैयाँ नाफा कमाएर सबैभन्दा बढी नाफा कमाउने बैंक बनेको छ । चालु आवको यो अवधिमा सबैभन्दा कम नाफा नेपाल एसबिआई बैंकले कमाएको छ । बैंकले साउनदेखि माघ महिनासम्म जम्मा ८५ करोड २४ लाख रुपैयाँमात्रै नाफा कमाएको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउनदेखि माघ महिना)सम्म नेपाल बैंकले खुद नाफा ९५ करोड ९१ लाख रुपैयाँ कमाएको छ । त्यसैगरी यो अवधिसम्म राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा २ अर्ब ६८ करोड ३० लाख रुपैयाँ रहेको छ ।
आर्थिक वर्षको सात महिनासम्म अवधिमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ३८ करोड, स्ट्रयाण्डर्ड चार्टड बैंकले १ अर्ब ९४ करोड, हिमालयन बैंकले १ अर्ब ८३ करोड रुपैयाँ खुद नाफा कमाएका हुन् ।
त्यसैगरी समीक्षा अवधिमा एभरेष्ट बैंककोे खुद नाफा १ अर्ब ९८ करोड, एनआईसी एसिया बैंकको २ अर्ब १४ करोड, माछापुच्छ्रे बैंकको ९८ करोड, कुमारी बैंकको १ अर्ब १२ करोड, लक्ष्मी बैंकको १ अर्ब ४० करोड, सिद्धार्थ बैंकको १ अर्ब ४१ करोड रुपैयाँ र कृषि विकास बैंकले १ अर्ब ५७ करोड रुपैयाँ रहेको छ ।
ग्लोबल आइएमई बैंकले २ अर्ब ६८ करोड, सिटिजन्स बैंकले ९९ करोड, प्राइम बैंकले २ अर्ब ५४ करोड, एनएमबी बैंकले १ अर्ब ६५ करोड, प्रभु बैंकले ९२ करोड र सानिमा बैंकले १ अर्ब ४० करोड रुपैयाँ खुद नाफा कमाएका छन् ।