काठमाडौं । उच्च अदालत, पाटनले प्रभु बैंकका वरिष्ठ डेपुटी सीईओ मनोज न्यौपानेसहित ११ जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ । धितोको मूल्यांकनभन्दा अधिक कर्जा प्रवाह गर्ने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका उनीहरुलाई अदालतले थप पाँच दिन हिरासतमा राख्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई अनुमति प्रदान गरेको हो ।
तत्कालीन सेञ्चुरी कमर्शियल बैंकबाट कर्जा लिने रबिन्द्र चौलागाई र उनी आवद्ध कम्पनीहरु पूजा ट्रेडिङ एण्ड मार्केटिङ कम्पनी प्रा.लि, थ्री ब्रदर्स मार्केटिङ प्रा.लि, पूजा मार्केटिङ प्रा.लि. र अन्नपूर्ण डिष्टिलरी प्रा.लि. समेतलाई कर्जा प्रवाह गर्दा धितो स्वरुप बैंकमा कर्जा सुरक्षण बापत १ अर्ब १४ करोड २३ लाख ८४ हजार २५८ रुपैयाँ धितोको मूल्यांकन गरिएको ब्यूरोले जनाएको छ । उक्त धितोवापत २ अर्ब ११ करोड ६५ लाख ५५ हजार ७३१ रुपैयाँ कर्जा प्रवाह भएको देखिएको ब्यूरोले जनाएको छ ।
धितोको मूल्यांकनभन्दा अधिक ९७ करोड ४१ लाख ७० हजार ७७२ रुपैयाँ कर्जा प्रवाह भएको प्रहरीले जनाएको छ ।
सीआईबीले १५ माघमा मनोज न्यौपानेसँगै सेञ्चुरी बैंकका पूर्वसीईओ तुल्सीराम गौतम, सबिना श्रेष्ठ, अनुपमा श्रेष्ठ, सुनिल बस्नेत, सन्ध्या श्रेष्ठ, सभाष श्रेष्ठ, दिलिप बराल, दीपेश प्रधान, राजेश भण्डारी र रमण श्रेष्ठलाई पक्राउ गरेको थियो ।
सेन्चुरी प्रभु बैंकमा गाभिएपछि न्यौपाने वरिष्ठ डेपुटी सीईओमा कार्यरत थिए । सेन्चुरीका तत्कालीन सीईओ गौतमले राजीनामा दिएपछि न्यौपानेले नै निमित्त सीईओको जिम्मेवारी पाएका थिए ।
नेपाल राष्ट्र बैंकले लामो समय सीईओ नभए पनि सीईओ नियुक्त गर्न दबाब दिएसँगै बैंक सञ्चालक समितिले न्यौपानेलाई नै सीईओको जिम्मेवारी दिएको थियो । न्यौपाने सहितको टिम प्रभुमै आएका थिए । त्यसमध्ये मनोज, दिलिप, दीपेश, राजेश र रमण बहालवाला कर्मचारी हुन्। बाँकीले अवकाश लिइसकेका छन् ।
सीआईबीले उनीहरूमाथि बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान गरिरहेको छ ।