काठमाडौं । देशमा सञ्चालित वाणिज्य बैंकहरूले राज्यबाट प्राथमिकता प्राप्त क्षेत्रमा १३ खर्ब ७१ अर्ब १२ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । बैंकहरूले गरेको सो कर्जा लगानी कुल कर्जाको कुल ३०.५० प्रतिशत हो । देशमा सञ्चालित वाणिज्य बैंकहरूले चालु आवको पुस मसान्तसम्म कुल ४४ खर्ब ९५ अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
राष्ट्र बैंकले किटान गरेको कृषि, ऊर्जा तथा जलस्रोत र लघु, घरेलु, साना एवम् मझौला उद्यममा बैंकले कुल कर्जा लगानीको कम्तीमा ४० प्रतिशत लगानी गर्नु पर्ने व्यवस्था छ । प्राथमिकता प्राप्त क्षेत्रमा बैंकहरूले गरेको कुल लगानीमध्ये १३.३५ प्रतिशत कृषि क्षेत्रमा गरिएको कर्जा लागनी हो । वाणिज्य बैंकहरूले लघु, घरेलु, साना एवम् मझौला उद्यममा ९.७२ प्रतिशत कर्जा छन् भने ७.४३ प्रतिशत जलविद्युत तथा ऊर्जा क्षेत्र गरिएको कर्जा लगानी हो ।
वाणिज्य बैंकहरूले २०८१ असार मसान्तसम्म कृषि क्षेत्रमा १४ प्रतिशत र २०८२ असारसम्म १५ प्रतिशत कर्जा पुर्याउनु पर्ने व्यवस्था गरेको छ । वाणिज्य बैंकहरूले २०८१ असार मसान्तसम्म १४ प्रतिशत कृषि क्षेत्रमा लगानी गर्नु पर्ने व्यवस्था २०७९/०८० को मौद्रिक नीतिमा उल्लेख गरिएको छ ।
वाणिज्य २०८१ असारमसान्तसम्म बैंकले कुल कर्जा लगानीको ८ प्रतिशत र २०८२ असार मसान्तसम्म १० प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको छ । २०८० असार मसान्तसम्म ७ प्रतिशत, २०७९ असार मसान्तसम्म न्यूनतम ६ प्रतिशत ऊर्जा क्षेत्रमा लगानी गर्नु पर्ने व्यवस्था गरेको छ ।
वाणिज्य बैंकले २०८१ असारमसान्तसम्म कुल कर्जा लगानीको लघु, घरेलु, साना एवम् मझौला उद्यम क्षेत्रमा १३ प्रतिशत, २०८२ असारसम्म १५ प्रतिशत यस्तो कर्जा पुर्याउनु पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । २०८० असार मसान्तसम्म न्यूनतम १२ प्रतिशत, २०७९ असार मसान्तसम्म ११ प्रतिशत कर्जा लघु, घरेलु, साना एवम् मझौला उद्यमका क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था थियो ।
राष्ट्र बैंकले २०७९ असार वाणिज्य बैंकहरुलाई कृषि कुल कर्जा सापटको क्षेत्रमा ११ प्रतिशत, ऊर्जा क्षेत्रमा ६ प्रतिशत र लघु, साना तथा मझौता उद्यम क्षेत्र (एमएसएमई) मा ११ प्रतिशत गरी कुल २८ प्रतिशत प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा प्रवाह गर्नु निर्देशन दिएको थियो ।
जसमध्ये कृषि क्षेत्रमा गर्नु पर्ने १२ प्रतिशत कर्जा प्रवाह अनिवार्य रुपमा र ऊर्जा र लघु, साना, मझौला उद्यम क्षेत्रको भने कुलमा कायम गर्दा हुने सहुलियत राष्ट्र बैंकले बैंकहरुलाई दिएको छ ।
कुन बैंकले गरे कति कर्जा प्रवाह ?
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कृषि विकास बैंकले सबै भन्दा बढी ६६.०२ प्रतिशत प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा प्रवाह गरेको छ । बैंकले कृषि क्षेत्रमा ३५.२९ प्रतिशत कर्जा प्रदान गरेको छ भने ऊर्जामा ४.५१ प्रतिशत र लघु, घरेलु, साना एवम् मझौला उद्यमका लागि २६.२२ प्रतिशत कर्जा प्रदान गरेको छ ।
नेपाल बैंकले कृषि, ऊर्जा र साना तथा मझौला उद्यम क्षेत्रमा गरी जम्मा ४०.३ प्रतिशत कर्जा प्रदान गरेको छ । बैंकले कृषि क्षेत्रमा ११.९६ प्रतिशत, ऊर्जामा ६.४७ प्रतिशत र लघु, घरेलु, साना एवम् मझौला उद्यममा २१.६० प्रतिशत कर्जा दिएको हो ।
यो अवधिमा राष्ट्रिय वाणिज्य बैंकले राष्ट्र बैंकले निर्देश गरेको क्षेत्रमा ३८.५० प्रतिशत कर्जा प्रदान गरेको छ । बैंकले कृषि क्षेत्रमा १२.३३ प्रतिशत, ऊर्जामा ७.८६ प्रतिशत र लघु, घरेलु, साना एवम् मझौला उद्यममा १८.३१ प्रतिशत कर्जा प्रदान गरेको हो ।
नबिल बैंकले यो अवधिमा कृषि क्षेत्रमा १२.८६ प्रतिशत कर्जा दिएको छ भने बैंकले ऊर्जामा ६.५० प्रतिशत र लघु, घरेलु, साना एवम् मझौला उद्यममा ६.९२ प्रतिशत गरि जम्मा २६.२८ प्रतिशत कर्जा प्रदान गरेको हो ।
त्यस्तै नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले कृषि, ऊर्जा र साना तथा मझौला उद्योगमा जम्मा २६.२६ प्रतिशत कर्जा दिएको छ । चालु आवको यो अवधिमा बैंकले कृषिमा १३.५२ प्रतिशत, ऊर्जामा ८.१७ प्रतिशत र लघु, घरेलु, साना एवम् मझौला उद्यममा ४.८७ प्रतिशत कर्जा प्रदान गरेको छ ।
चालु आवको समीक्षा अवधिमा स्ट्याण्डर्ड चार्टर्ड बैंकले कृषि, ऊर्जा र लघु, घरेलु, साना एवम् मझौला उद्यममा जम्मा २१.५५ प्रतिशत, हिमालयन बैंकले २७.११ प्रतिशत, नेपाल एसबिआई बैंकले ३२.३५ प्रतिशत, एभरेष्ट बैंकले २३.१६ प्रतिशत एनआईसी एशिया बैंकले ३२.३५ र माछापुच्छ्रे बैंकले २८.०२ प्रतिशत कर्जा प्रदान गरेका छन् ।
त्यसैगरी यसै अवधिमा कुमारी बैंकले कृषि ऊर्जा र लघु, घरेलु, साना एवम् मझौला उद्यममा ३२.७७ प्रतिशत, लक्ष्मी सनराइज बैंकले २६.८५ प्रतिशत, सिद्धार्थ बैंकले २९.२४ प्रतिशत, ग्लोबल आईएमई बैंकले २७.५१ प्रतिशत, सिटिजन्स बैंकले ३१.६० प्रतिशत, प्राइम बैंकले २९.१७ प्रतिशत, एनएमबी बैंकले ३२.६६ प्रतिशत र प्रभु बैंकले १९.८१ प्रतिशत कर्जा प्रदान गरेका हुन् ।
सानिमा बैंकले कृषिमा ११.५५ प्रतिशत, ऊर्जा क्षेत्रमा ११.२० प्रतिशत र लघु, घरेलु, साना एवम् मझौला उद्यममा ६.४२ प्रतिशत कर्जा दिएको छ । बैंकले यो अवधिमा जम्मा २९.१६ प्रतिशत कर्जा प्रदान गरेको छ ।