बैंकर पक्राउ पर्नुभयो भनेर आत्तिनु पर्दैन, गलत मनसायले कर्जा प्रवाह गर्नु भएको रहेनछ भने राष्ट्र बैंकले सहयोग गर्छः महाप्रसाद अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारी प्रकरणमा पक्राउ पर्नु भएका बैंकर्सका कारण आत्तिनु नपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा गभर्नर अधिकारीले गलत काम गर्नुभएको भएका बैकरहरूले डराउनु नपर्ने बताएका हुन् ।

‘गलत मनसायका साथ कर्जा प्रवाह गर्नुभएको छैन भने उहाँहरूलाई राष्ट्र बैंकले सहयोग गर्छ । निर्दोष सावित भइहाल्नु हुन्छ । अहिलेलाई प्रहरीको अनुसन्धानलाई सहयोग गरौँ । यसबाट आत्तिनुपर्ने अवस्था छैन’, गभर्नर अधिकारीले भने। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सहकारीको अनुसन्धान गर्दा बैंकरसमेत तानिएको बताएका हुन् ।

सीआईबीले बैंकको नभइ एउटा (देउराली बहुउद्देश्यीय) सहकारीको अनुसन्धान गर्दा त्यसको लहरो बैंकसम्म परेको बताए । बैंकर पक्राउ परेको विषयमा राष्ट्र बैंकले प्रहरीसँग पनि समन्वय गरेको उनले जानकारी पनि दिए । ‘बैंकिङ कसुरजन्यकार्य गरेको खण्डमा प्रहरीले अनुसन्धान गर्छ,’ उनले भने, ‘प्रहरीले एउटा सहकारीको अनुसन्धान गरेको थियो । त्यसको अनुसन्धान गर्दा सहकारीको लहरोले बैंकका कर्मचारीसम्म पुगेको हो ।’

यो विषयमा प्रहरीले लामो समयदेखि अनुसन्धान गरेको र अनुसन्धानको अन्तिम चरणमा पुगेकाले बैंकर पक्राउ परेको अधिकारीको भनाइ छ । अहिले प्रहरीले एकै पटक बैंकर समातेको जस्तो देखिए पनि यस विषयमा लामो अनुसन्धान गरेको छ’, उनले भने ‘उनले आगामी दिनमा कसैले पनि आतंकित बन्न पर्दैन । सरकारी निकायले गरेको अनुसन्धानमा राष्ट्र बैंकले सहयोग गर्छ ।’

गभर्नर अधिकारीले पछिल्लो समय बैंकका कर्मचारीहरुमाथि विभिन समूह र क्षेत्रबाट आक्रमण र धरपकड भइरहेको र यसले बैंकिङ प्रणालीमा समस्या निम्त्याउने सक्ने बताए ।

गभर्नर अधिकारीले यस्ता अभियानले बैंकिङ क्षेत्रका कर्मचारीको मनोबल घट्ने बताए । ‘कर्मचारीलाई मोसो दल्ने, धरपकड गर्ने काम भएको छ,’ उनले भने, ‘यस्ता कार्यले कर्मचारीले कसरी काम गर्न सक्छन् ।’

अहिले केही समूह बैंकिङ क्षेत्र, नियामक निकायलाई कमजोर बनाउने लागेको बताए । बैंक कमजोर बनायो भने सबै क्षेत्र कमजोर बनाउन सकिने स्वार्थ समूह लागेको उनको दाबी छ ।

अहिले बैंकको कर्जाको गुणस्तर खस्केको उनले बताए । ‘बजारमा ऋण नतिरेपनि हुन्छ भन्ने अभिव्यक्तिले, गलत आश्वासनले बजारमा असर परेको छ । यसले कर्जा प्रवाह र असुली असर परेको छ’ उनले भने ‘त्यसको प्रभाव बैंकको खराब कर्जामा पनि परेको छ ।’

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स