काठमाडौं । बैंकहरूमाथि धावा बोल्नेको आवास मर्थर नहुँदै फेरि बैकरहरूमा अर्को आतंक भित्रिएको छ । हिजो तत्कालिन सेन्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तुलसीराम गौतम र अर्का सीईओ मनोज न्यौपानेलाई नेपाल प्रहरीको अनुसन्धान व्यूरो (सीआईबी) ले पक्राउ गर्यो । उनीहरूसहित बैंकका अन्य १० जना कर्मचारीलाई पनि सीआईबीले पक्राउ गरेर हिरासतमा राखेको छ ।
यो घटना पछि आज बैकरहरूको बैंठक नेपाल बैकर्स संघमा बस्यो । राष्ट्र बैंकलाई समेत पत्तो नदिइ सीआईबीले सहकारी डुबाउने रविन्द्र चौलागाईलाई लोन दिएको भन्दै एक्कासी बैकरहरूलाई समातेको हो । यसअघिका कतिपय यस्ता केसमा राष्ट्र बैंक आफैले रेफर गरेर समेत सीआईबीलाई अनुसन्धान गर्न लगाउने गरेको थियो । अहिले भने सहकारीबाट यो ईस्यू जोडिएको हो ।
सीआईबीले पक्राउ गरेकाहरूलाई उच्च अदालत पाटनबाट अनुसन्धानका लागि ७ सात थुनामा राख्ने अनुमति दिएको छ । उनीहरूमाथि बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।
देउराली सहकारी डुबाएका चौलागाईले विभिन्न मितिमा सेन्चुरी बैंकबाट ‘१ अर्ब १४ करोड २३ लाख ८४ हजार २५८ रुपैयाँ धितोको मूल्यांकन गरी २ अर्ब ११ करोड ६५ लाख ५५ हजार ७३१ रुपैयाँ कर्जा लिएको देखिएको छ । अहिले चौलागाईले लिएको बैंकको ब्याज नै ६६ करोड ९१ लाख रुपैयाँ बढी पुगेको छ । प्रभु बैंकसँग सन्चुरी बैंक गाभिएपछि अब सहकारीबाट प्रभु बैंकले सावा ब्याजसहित कुल २ अर्ब ८६ करोड ८१ लाख रुपैयाँ असुल गर्नुपर्ने देखिन्छ ।
बैंकले देउराली सहकारीलाई प्रवाह गरेको कर्जा उच्च जोखिममा परेकोले गत वर्षमा नै शत प्रतिशत प्रोभिजन गरेर कर्जा असुलीको लागि आवश्यक प्रक्रिया सुरु गरिसकेको छ । कर्जा असुली पक्रिया अघि बढाइरहेका बेला सीआईबीले बैंकका कर्मचारीलाई समातेको अनुसन्धान थालेको हो ।
पूजा मार्केटिङ, पूजा ट्रेडिङ एण्ड मार्केटिङ, थ्री ब्रदर्स मार्केटिङ र अन्नपूर्ण डिष्टिलरी प्रालि लगायतका कम्पनीका नाममा चौलागाईंले तत्कालीन सेञ्चुरी बैंकबाट पटक–पटक ऋण लिएका थिए ।
सोही कर्जा प्रवाह गर्ने कार्यमा संलग्न सीईओसहित कर्मचारीहरु पक्राउ पूर्वसीईओ गौतम, प्रभु बैंकका वरिष्ठ डेपुटी सीईओ मनोज न्यौपाने, राजेश भण्डारी, दिलिप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान र सुनिल बस्नेत रहेको सीआईबीले जनाएको छ ।
समस्या ग्रस्त सहकारी देउरालीको विषयमा सहकारी विभागले छानबिनको लागि सीआईबीलाई पत्रचार गरेको थियो । ‘आर्थिक हिनामिना भएको उजुरीको आधारमा सहकारीमाथि छानबिन गर्दै बैंकका कर्मचारीलाई समेत तानेको हो ।
देउराली सहकारीका अध्यक्ष चौलागाईले बचतकर्तासँग २ साढे अर्ब रुपैयाँ र सेञ्चुरी बैंक सहित अन्य ४ बैंकसँग करिव पौने ४ अर्ब रुपैयाँ कर्जा लिएर घर–जग्गा व्यवसायमा लगानी गरेका थिए।